सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताएका हुन् ।

उनले भने, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।’ देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उनले बताए ।

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए । सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।

सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो । उनले भने, ‘काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।’ प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए । फरक प्रसङ्गमा बोल्दै उनले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताए । विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यस वर्ष बजेटमै राखेर काम गर्न लागिएको उनले बताए । जनताको दुःखमा राज्य पुग्नुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया