Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै शुक्रबार जग्गा सरकारीकरण गर्ने निर्णय गरेको हो ।

कार्यालयले आज पत्रकार सम्मेलन गर्दै बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

२०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा हडपिएको उक्त जग्गा अहिले चौधरी ग्रुप सञ्चालक रहेको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो । ‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ’, अधिकारीले भने, ‘नेपाल सरकारको स्वीकृत बिना उक्त जग्गा कसैलाई पनि हस्तान्तरण गर्न पाइँदैन। मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति वा स्वीकृति चाहिनुपर्नेमा त्यस्तो नदेखिएको कारण उक्त जग्गा आजैदेखि सरकारको नाममा ल्याउने निर्णय भएको छ ।’

मन्त्री अधिकारीका अनुसार बाँसबारी छालाजुत्ता उद्योगको ६ रोपनी जग्गा २०४४ साल भदौ ५ गते च्याम्पियन फुटवेरको नाममा गएको थियो । त्यसपछि २०४४ मंसिर १८ गते थप ४ रोपनी सरकारी जग्गा च्याम्पियन फुटवेयर प्रालिको नाममा पास गरिएको थियो । मन्त्री अधिकारीका अनुसार कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयर प्रालिको नाममा लगिएको थियो । ‘उक्त जग्गा अब नेपाल सरकारकै मातहत ल्याउने काम भएको छ’, उनले भने, ‘त्यसका लागि डिल्ली बजार मालपोत कार्यालयले आवश्यक फैसला गरिसेको छ ।’

तपाईको प्रतिक्रिया