शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको एक दिनपछि उत्तर कोरियाले आफ्नो पूर्वी समुन्द्रतर्फ धेरै छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसदको बैठकमा उत्तर कोरियाले कोरियाली प्रायद्वीप र जापान बीचको पानीमा धेरै मिसाइल प्रहार गरेको बताए । उनले भने, ‘यी क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेका छन् र कुनै क्षतिको खबर छैन ।’

किशिदाले उत्तर कोरियाको यो कदम जापानको शान्ति र सुरक्षाका लागि चेतावनी भएको बताए । ‘यो क्षेत्र र अन्तर्राष्ट्रिय जगत दुवैका लागि खतरा हो,’ उनले थपे, ‘उत्तर कोरियाले मिसाइल प्रहार गरेर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको छ ।’

सुरक्षा परिषद्ले उत्तर कोरियाको मिसाइल गतिविधिमा प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियाको सेनाले पनि केही संदिग्ध छोटो दुरीका क्षेप्यास्त्र फेला पारेको जनाएको छ ।

उत्तर कोरिया नजिकै दक्षिण कोरिया र अमेरिकाबीच ११ दिने कम्प्युटर सिमुलेटेड कमाण्ड पोस्ट तालिम चलिरहेको थियो । यस सैन्य अभ्यासमा ४८ वटा क्षेत्रीय अभ्यास गरिएको छ । यो गत वर्षको तुलनामा दोब्बर अभ्यास हो ।

तपाईको प्रतिक्रिया