शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानले समुन्द्रमा विषाक्त पानी छोड्न बन्द गरेको छ । शुक्रबार बिहान फुकुशिमा प्लान्ट नजिक भूकम्प गएपछि यस्तो निर्णय गरिएको हो ।

फुकुशिमाको उत्तरपूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । सन् २०११ मा यहाँ सुनामी आएको थियो, जसले प्लान्टलाई धेरै क्षति पुर्‍याएको थियो । टोकियो इलेक्ट्रिक पावर कम्पनीले विषाक्त पानी निकासको निरीक्षण गरिरहेको छ । कम्पनीले एक्समा लेखेको छ, ‘भूकम्पले पानी छोड्ने प्रक्रियालाई असर गरेको छैन । तर, सुरक्षाका कारण पानी छोड्न रोकिएको छ ।’

जापानले सन् २०२३ अगस्ट २४ देखि आफ्नो क्षतिग्रस्त फुकुशिमा आणविक प्लान्टमा रहेको १३२ करोड लिटर रेडियोधर्मी पानी प्रशान्त महासागरमा छोड्न थालेको थियो । जापानको विदेश मन्त्रालयका अनुसार पानीलाई समुन्द्रमा छोड्नुअघि सफा गरिएको थियो । तर, रिपोर्टका अनुसार सफा गरेपछि पनि यसमा ट्रिटियम कणहरू छन् । ट्रिटियम एक रेडियोधर्मी पदार्थ हो। यसलाई पानीबाट अलग गर्न धेरै गाह्रो हुन्छ । यसले क्यान्सर जस्ता रोग लाग्न सक्छ ।

दक्षिण कोरिया, चीन र अष्ट्रेलियाले प्रशान्त महासागरमा पानी छोड्न कार्यको विरोध गरेका थिए । न्यूयोर्क टाइम्सका अनुसार सन् १९४० को दशकमा अमेरिका, बेलायत र फ्रान्स जस्ता देशहरूले दक्षिण प्रशान्त क्षेत्रमा एकपछि अर्को धेरै परमाणु परीक्षण गरेका थिए । मार्शल टापुहरूमा बसोबास गर्ने मानिसहरू अझै पनि यसको परिणाम भोगिरहेका छन् ।

तपाईको प्रतिक्रिया