बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवसहितको टोलीले माओवादीसँग एकता गर्ने सहमति गरेको हो ।

शनिबार प्रधानमन्त्री एव माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले चार बुँदे सहमति गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ तथा नेसपाको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

नेसपाका अध्यक्ष भट्टराई भने बैठकमा सहभागी थिएनन् । बाबुराम पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा रहेका थिए । उनी शुक्रबारको बैठकमा समेत सहभागी थिएनन् ।

दुवै पार्टीको एकीकरणपछि आगामी महाधिवेशनबाट नयाँ नाम टुंगो लगाउने पनि सहमति गरेका छन् । पार्टी एकताका लागि माओवादीको तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाको तर्फबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादवको कार्यदल गठन गरिएको छ । एकताको सहमतिपछि माओवादीका महासचिव गुरुङ र नेसपाका महासचिव यादवले संयुक्त प्रेस नोट जारी गरी यस सम्बन्धी जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया