मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – सुन तस्करी प्रकरणमा उच्च पदस्थ राजनीतिज्ञ, सुरक्षा निकायका उपल्लो तहका अधिकारी र उच्च प्रशासकहरू पनि तानिएका छन् । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको छानविनमा उनीहरूको पनि संलग्नता भेटिएको हो ।

आयोगले पाँच महिना लगाएर गरेको छानविनले सुन तस्करीमा राजनीतिक दलका उच्च पदस्थ नेता, प्रहरीका विभागीय प्रमुखहरू र उच्च प्रशासकहरूको पनि संलग्नता भेटिएको हो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को अनुसन्धानले उनीहरूलाई उन्मुक्ति दिएको आयोगको ठहर छ । आयोगले तस्करीमा संलग्न उच्च पदस्थहरूलाई उन्मुक्ति दिने प्रहरी अधिकारीहरूलाई समेत कारबाही सिफारिस गरेको छ । आयोगले सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

आयोगले काठमाडौंका जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सिआइबी प्रमुख बज्राचार्यले महरा र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता खनाल सुन तस्करीमा संलग्न रहेको बयान आए पनि उनीहरूमाथि अनुसन्धान नगरेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको पनि तस्करीमा संलग्नता रहेको निष्कर्ष निकालेको छ । बज्राचार्यले अनुसन्धानमा लापरबाही गरेको आयोगको ठहर छ ।

सुन तस्करीमा ‘सानालाई देखाएर उच्च पदस्थ (ठूला माछा)लाई उन्मुक्ति दिन खोजेको’ भन्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले गत साउनमा एक महिना संसद् अवरुद्ध गरेपछि सरकारले गत असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए । चार सदस्यीय आयोगलाई पुस १६ सम्म काम सक्न समय तोकिएको थियो । सुरुवातमा तीन महिनाको कार्यावधि दिइएको आयोगका लागि सरकारले गत पुसमा दुई महिना म्याद थप गरेको थियो ।

थपिएको दुई महिनामा समेत काम पूरा नभएपछि फागुन १४ मा बसेको मन्त्रिपरिषद् बैठकले पुनः फागुन मसान्तसम्म म्याद थप गरेको थियो । आयोगले अनुसन्धान प्रतिवेदन बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो । लामिछानेले शुक्रबार उक्त प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका थिए । सिआइबीले कागज मात्र गराएर छाडेका २१ जनालाई फेरि बयान गराइएको आयोगले जनाएको छ ।

विद्युतीय सिगरेट (भेप) र ब्रेक प्याडभित्र लुकाएर भएको सुन तस्करीमा प्रतिवादी रहेका ३३ जनालाई आयोगले पुनः बयान लिएको थियो । त्यसक्रममा ब्युरोले कागज गराएर छाडेका थप २१ जनासँग बयान लिइएको आयोगका एक सदस्यले बताए । अनुसन्धानका क्रममा आयोगले थप १४ जनासँग समेत सोधपुछ गरेको हो ।

महरासहित सात जनालाई मुद्दा चलाउन सिफारिस
६० किलो सुन र भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित सात जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले थप सात जनालाई पूरक अभियोग लैजान सिफारिस गरेको हो । आयोगले वाल्डो क्यासिनोको अकाउण्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।

ठमेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ । मञ्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । गुरुङ अहिले १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् ।

एआइजी, एसपी र दुई डिएसपीमाथि कारबाही सिफारिस
आयोगले सिआइबी प्रमुख किरण बज्राचार्यसहित चार प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उनीहरूलाई कारबाही सिफारिस गरेको हो । त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआइजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डिएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको आयोग स्रोतले जनाएको छ । ६० केजी सुन र भेपमा उनीहरूले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ ।

बिचौलियाको बयान- हिरासतबाट छुट्न ६० लाखको ‘बार्गेनिङ’ ३० लाखमा ‘डिल’
सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेले सिआइबीका एसपी सञ्जयसिंह थापा र डिएसपी दुर्गाराज दाहालले ६० लाख रुपैयाँ मागेको दाबी गरेका छन् । करिब ६१ केजी सुन तस्करीमा संलग्न बिचौलिया चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानविन समितिलाई बयान दिएका हुन् ।

३० लाख रुपैयाँमा डिल भएको र पैसा जुटाउन भन्दै आफू सिआइबीको हिरासतबाट मुक्त भएको उनले बयान दिएका छन् । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगलाई चलाउनेले विदेशबाट हृवाट्स एपमा बयान दिएका थिए । बयानको अडियो रेकर्ड र च्याटमा भएको कुराकानीलाई आयोगले प्रमाणको रूपमा लिएर पेनड्राइभमा हालेर बुझाएको छ । सिआइबीका कुन तहका अधिकारीले ६० लाख बार्गेनिङ गरेको भन्ने आयोग स्रोतले खुलाएको छैन ।

‘सिआइबीले बयानका लागि बोलाएपछि म गएँ, चार घण्टा बयान भएको हो । त्यसक्रममा मसँग ६० लाख रुपैयाँको बार्गेनिङ भयो,’ चलाउनेले आयोगसँगको बयानमा भनेका छन्, ‘अन्ततः ३० लाखमा डिल भएपछि बयानका कागज च्यातिए । म पैसा जुटाउन भन्दै सिंगापुर हुँदै मलेसिया आएँ ।’ आयोगसँग बयानका लागि चलाउने भारत हुँदै नेपाल आउन सीमावर्ती भारतको रुपैडिया नाकामा आएका थिए ।

तपाईको प्रतिक्रिया