मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक जना स्टाफ नर्स मृत्त भेटिएकी छन् । सिरहा घर भएकी चन्द्रिकाकुमारी दासको हत्या भएको आशंका प्रहरीले गरेको छ । दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो । शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको मोरङका एसपी नवराज कार्कीले जानकारी दिएका छन् । ‘हामीले प्रहरी टोली घटनास्थल पठाइसकेका छौं । अनुसन्धान भइरहेको छ,’ कार्कीले भने ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको हो । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । हत्यामा संलग्नको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न हत्यापछि शौचालयमा शव छाडेर भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी दाहालले बताए । घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ । हत्यामा संलग्नको खोजी तीव्र पारिएको र पहिचानको प्रयास भइरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया