शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – इटलीको प्रहरीले एक १०३ वर्षीया सवारी चालक महिलालाई जरिवाना तिराएको छ । म्याद गुज्रेको लाइसेन्स लिएर बिमा नगरिएको कार चलाउँदै गर्दा उनी समातिएकी थिइन् ।

बोन्देनो नामक १३ हजार बासिन्दा रहेको सानो सहरमा राति १ बजे कसैले खतरनाक तरिकाले गाडी चलाइरहेको भन्दै प्रहरीलाई फोन गरेको थियो । सो क्षेत्रमा प्रहरी खटाइयो । प्रहरीले चालकलाई समाते पनि। तर, उनको जन्ममिति देखेर प्रहरीहरु चकित परे ।

जोसेफिना मोलिनारी नामक ती महिला १९२० मा जन्मेकी थिइन् । साथीहरु भेट्न भनेर हिँडेकी उनी बाटो अलमलिएकी थिइन् । उनको चालक अनुमति पत्रको म्याद दुई वर्षअघि नै गुज्रेको थियो । इटलीमा ८० नाघेका सवारी चालकलाई दुई वर्षे म्याद भएको लाइसेन्स लिन हरेक पटक स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

उनलाई जरिवाना तिराएर प्रहरीले घर पुर्‍याइदिएको थियो । ‘अब म वेस्पा किन्छु । त्यतिन्जेललाई साइकल चढेर साथीहरुलाई भेट्न जान्छु,’ उनले स्थानीय पत्रिकासँग भनेकी छन् ।

सो सहरका मेयरले चाहिँ उनको प्रशंसा गरेका छन् । ‘म भए उनलाई जरिवाना होइन, तक्मा दिन्थेँ,’ मेयर एलन फाब्रीले फेसबुकमा लेखेका छन्, ‘त्यस्तो आन्तरिक शक्ति सामान्य कुरा होइन। यसले मलाई आफ्नै बुढ्यौलीप्रति पनि आशा जगाएको छ ।’

तपाईको प्रतिक्रिया