शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अमेरिकमा लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । डेमोक्रेट्रिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने भएको हो ।

बाइडेनको उम्मेदवारी पहिला नै निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौती थिए । उक्त चुनौतीलाई पछि पार्दै ट्रम्प नै रिपब्लिकन पार्टीबाट उम्मेदवारको रूपमा अगाडि आएका छन् । अन्तिमसम्म प्रतिस्पर्धामा रहेकी निक्की हेली चुनावी मोर्चाबाट हटेपछि ट्रम्पलाई सहज भएको हो ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि डोनाल्ड ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो । अमेरिकामा डेमोक्रेट्रिक र रिपब्लिकन पार्टीले राष्ट्रपति पदका लागि प्राथमिक चुनाव जित्नेलाई मात्रै उम्मेदवार बनाउँछन् । बाइडेनलाई डेमोक्रेट क्याम्पबाट मनोनयन दौड जित्न एक हजार ९६८ प्रतिनिधि चाहिन्छ । जर्जिया बाहेक मिसिसिपी, वाशिंगटन र उत्तरी मारियाना टापुहरूमा पनि बाइडेनको राम्रो समर्थन छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पलाई धेरै प्रमुख राज्यमा राम्रो समर्थन मिलिरहेको छ । उम्मेदवारी स्वीकृत भएपछि बाइडेनले भने ट्रम्पको अभियानलाई ‘आक्रोश र बदलाको अभियान’को संज्ञा दिएका छन् ।

चार वर्षअघि भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएका थिए । त्यसपछि पहिलो पटक क्यापिटल हिलमा अशान्ति भएको थियो । अहिले पनि क्यापिटल हिल प्रकरणका आरोपीलाई सजाय तोकिएको छ । ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा क्यापिटल हिल प्रकरणमा दोषी ठहरिएकालाई सजाय माफ गर्ने बताइसकेका छन् ।

तपाईको प्रतिक्रिया