शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै स्वास्थ्य हो । तर यही विषय हामीले अपनाउने जीवनशैलीले निर्धारण गर्छ । खासगरी ३० वर्षको उमेरपछि शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहनका लागि केही आनीबानीहरू सुधार्न जरुरी हुन्छ ।

यो उमेरपछि मानिसमा कयौँ प्रकारका मानसिक र शारीरिक बदलाव देख्न सकिन्छ । फलतः आफ्नो व्यक्तित्वमा बदलाव देखि खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । यो उमेरले बताउँछ कि तपाईँको जीवन अब अझ जिम्मेवारी र परिपक्वतातर्फ उन्मुख छ । किशोरावस्थाको केटाकेटीपन सक्किसकेको छ भने समाज र परिवारमा एक योग्य नागरिकका रूपमा आफैलाई स्थापित गराउने समय आएको छ ।

यस सन्दर्भमा आज हामी ३० देखि ३५ को उमेरमा देखिने मानसिक र शारीरिक परिवर्तन र त्यससँग जुध्न जीवनशैलीमा गर्नुपर्ने परिवर्तन बारे जानकारी गराउँदै छौँ ।

३० वर्षपछि मेटाबोलिज्म कम हुन थाल्छ
सर्वप्रथम स्वास्थ्यको कुरा गर्ने हो भने यो उमेरपछि महिला पुरुष दुवैको शरीरमा मेटाबोलिज्म कम सुस्त हुन थाल्छ । यदि यसलाई ध्यानमा राख्दै खानपानमा परिवर्तन गरिएन, २०-२५ को उमेरमा जस्तो जे पनि जस्तो पनि खान थालियो भने यसले तपाईँको स्वास्थ्यमा ठूलो हानी गर्न सक्छ । मेटाबोलिज्म सुस्त हुन शुरु हुने भएकोले यो उमेरपछि क्यालोरी खपत कम भइरहेको हुन्छ भने मोटोपन बढ्छ । यही कारण किशोरावस्थामा जुन खानपानले मासिन फिट रहन्छ त्यही खानपानको शैलीले ३० पछि काम गर्दैन यही कारण यो उमेरपछि जीवनशैली बदल्न जरुरी छ ।

जीवनशैली र डाईटमा परिवर्तन
यो उमेरपछि डाईट प्याटर्न परिवर्तन जरुरी छ । फलतः फास्ट फुडको साटो स्वस्थकर खानाको मात्रा बढाउनुपर्छ । आफ्नो डाईटमा हरियो तरकारी,फलफूलको मात्र बढाउनुपर्छ भने धेरै पानी पिउनुपर्छ । धेरै सक्रिय उमेरमध्ये एक भएका कारण तीन पटक पेट भरी खान जरुरी छ भने प्रोटिन,भिटामिन र खनिज युक्त खाद्यवस्तुलाई डाईटमा समेट्नुपर्छ

३० वर्ष पारि सम्बन्धमा इमानदारी
कयौँ अनुसन्धानबाट के देखिएको छ भने ‘ट्वान्टीज’ को भन्दा ३० वर्षको आसपास बनेका सम्बन्धहरू मजबुत हुन्छन् । वास्तवमा यो उमेरमा मानिसहरू आफैलाई चिन्न सक्छन् भने जोडीको पनि कुरा बुझ्ने भइसकेका हुन्छन् । आफूलाई स्वीकार गर्ने र अरूलाई पनि स्विकार्ने बानी विकास भइसकेको हुन्छ । अर्थात् अरूको आनीबानी आफूले चाहे जस्तै नहुँदा यो मानिस खराब हो भन्ने गलत सोचाइबाट यो उमेरका व्यक्तिहरुले पार पाइसकेका हुन्छन् । आफैमा भरोसा गर्ने उमेर भएका कारण दोस्रो व्यक्तिमा भरोसा गर्ने क्षमता पनि बढेको हुन्छ । जसले जोडीलाई ज्यादा माया र इज्जत दिने बानी विकास हुँदा सम्बन्ध मजबुत बन्छ ।

बचतमा ध्यान दिन जरुरी
यो उमेरबाट तपाईँले कमाई मात्र हैन बचतमा पनि ध्यान दिन जरुरी हुन्छ । बिस्तारै बढ्दो जिम्मेवारीले तपाईँको खर्च बढ्दा बुढेसकालमा खाली हात हुनुपर्ने हुन सक्छ । परिवारका सदस्यहरू बिरामी हुने क्रम बढ्छ भने आफै पनि शारीरिक रूपमा कमजोर हुने दिन नजिकिन्छ । जसले ठूलो रकम एकैचोटि आवश्यक पर्न सक्ने सम्भावनाहरू बढ्छन । तपाई व्यवसाय गर्नुहुन्छ या नोकरी आफ्नो कमाइको २५ प्रतिशत बचत गर्नु सुरु गर्नुहोस् ।

हड्डी कमजोर हुन थाल्छ
हुन त अस्वस्थकर जीवनशैलीकै कारण अहिले २५ बाटै हड्डीसँग सम्बन्धित रोगहरू आम युवाको रोग बनेको छ । तर ३० वर्षपछि भने प्राकृतिक रूपमै हड्डी कमजोर बन्न थाल्छन् । हड्डीमा रहने मिनरल्समा आउने कमीले यो समस्या देखिने हुँदा क्याल्सियम र भिटामिन डी पाइने खानेकुरा डाईटमा सामेल गर्न जरुरी छ । यसको साथै दैनिक व्यायाम गर्नुपर्छ भने धूम्रपान र मद्यपान छोड्न आवश्यक छ ।

अनि बिहे र जोडी खोज्ने कुरा नि ?
हो यो पनि ३० वर्षपछि ध्यान दिनुपर्ने विषय हो । नेपालीमा समाजमा त त्यो भन्दा अघि नै घरपरिवार,आफन्त र साथीसंगीले बिहे गर्न दबाब दिन थालिसकेका हुन्छन् । तर बिहे बच्चाको खेल त हैन । जीवनभरको सम्झौता हो । त्यसैले कसैले भनेर वा दबाबमा परेर हैन आफैले मनबाटै चाहेको जोडी रोज्नुहोस् । कस्तो मान्छे चाहिन्छ जीवनमा आफैले छान्नुहोस् । बिहेका लागि मानसिक रूपमा तयार हुनुहुन्छ भने मात्रै निर्णय गर्नुहाेस् नत्र हतारमा निर्णय गरेर फुर्सदमा पछुताउन पर्ला है ! –जोयनेपालबाट

तपाईको प्रतिक्रिया