शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

नागोया – जापानको नागोया र फुकुओका शहरमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको आयोजनामा, आदिवासी जनजाति महासंघको मुख्य सहआयोजना,नागोया अवस्थित  सामाजिक संघ संस्थाहरूको सहआयोजना एवं नेपाली दूतावास टोकियोको सहयोगमा फेस्टिभल आयोजना हुने भएको हो ।

फेस्टिभल आउँदो जून ८ तारिख शनिबार र ९  तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेस्टिभलको आयोजना गरिएको एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिए । फेस्टिभललाई व्यवस्थित र उत्कृष्ट बनाउन एनआरएनए क्षेत्रीय समिति नागोयाका उपसंयोजक देव घिमिरेको संयोजकत्वमा नेपाल फेस्टिभल मूल आयोजक समिति गठन गरिएको छ ।

जापानीलाई नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैको साथ र सहयोग रहनेमा आफू विश्वत रहेको बताउँदै फेस्टिभल संयोजक देव घिमिरेले फेस्टिभललाई अहिले सम्मकै उत्कृष्ट बनाउन लागिपर्ने बताए । उक्त तेस्रो नेपाल फेस्टिभल नागोया २०२४ लाई भव्यताका साथ सम्पन्न गर्नका लागि गत १० तारिख आइतबार नागोयामा सरोकारहरूको भेला समेत राखिएको थियो ।

गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय समितिको नेतृत्वमा फुकुओका  पनि नेपाल सोसाइटी ,नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियानलगायत क्युस्युमा रहेका सामाजिक संघसंस्थाहरुको सहभागिता र नेपाली राजदूतावास टोक्यो, नेपाली वाणिज्य दूतावास फुकुओकको विशेष सहयोगमा आउँदो अप्रिल ६ तारिख  चिउओ पार्क तेन्जिन, फुकुओकामा आयोजना गरिएको एनआरएनए क्युस्यु क्षेत्रीय समितिका संयोजक विवेक बुढाथोकीले बताएका छन् । उक्त ११ औं नेपाल फेस्टिभल फुकुओका (२०२४ मा सम्पूर्ण जापानवासी नेपाली आमाबुवा,दाजुभाइ,तथा दिदी बहिनीहरूमा  जापनिज समुदाय सहित उपस्थितिको लागि उनले अनुरोध समेत गरेका छन् ।आउँदो अप्रिल ६ तारिख फुकुओका सहरमा हुने उक्त फेस्टिभल यस वर्ष नेपाली तथा विदेशी गरी करिब ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको एनआरएन जापानका सचिव अर्जुन बगालेले बताए । ‘यो नेपाली कला, संस्कृतिलाई चिनाउने पर्व हो । यस्तो मेला र महोत्सवले नेपाली पर्यटन क्षत्रलाई महत्त्वपूर्ण टेवा पुर्‍याउने हाम्रो विश्वास छ,’ उनले भने ।

फेस्टिभलको अहिले आवश्यक जिम्मेवारी बाँडफाँडसहित तयारीलाई तीव्रता दिइएको छ । गत वर्ष फुकोओकामा आयोजना गरिएको नेपाली फेस्टिभलमा पूर्व प्रधानमन्त्रीको हैसियतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए । जापानको दुबै शहरमा आयोजना हुन लागेको नेपाल फेस्टिभलमा आआफ्नो क्षेत्रबाट सहयोग गर्नु हुन जापानमा रहेका नेपाली र नेपालीका संघसंस्थाहरुलाई एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले अनुरोध गरेका छन् ।

यो सबैको साझा कार्यक्रम बनाऔं र जापानमा नेपाल अनि नेपाली चिनाउने अभियानमा सहभागी बनौं उनले भने। पछिल्लो तथ्याङ्ग अनुसार जापानमा नेपालीको संख्या १ लाख पचास हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया