Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चुलिएको छ । पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई लिएर विवाद चर्किएको हो । यो विवादले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीबाट मन्त्री बनेकाहरु अप्ठेरोमा परेका छन् । मन्त्री रहिरहन दिने कि फिर्ता बोलाउने भनेर अध्यक्ष रञ्जिता चौधरी र नेता रेशम चौधरीबीच कुरा मिल्न सकेको छैन । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा रञ्जिता र रेशमको मतभेद छ । रेशमको निर्देशनअनुसार नागरिक उन्मुक्तिबाट शुक्रवार तीन मन्त्रीले शपथ लिएका थिए ।

तर, अध्यक्ष रञ्जिताले हिजो संसदीय दलका नेता घनश्याम चौधरीलाई फोन गरेर पार्टीबाट मन्त्रीहरू फिर्ता बोलाउन र सरकारको समर्थन फिर्ता लिन निर्देशन दिनुभएको छ । हिजो शनिबार बुटवलमा पत्रकारसँगको कुराकानीमा रेशम चौधरीले सुदूरपश्चिम सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता नहुने बताउनुभएको छ  । नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेश सरकारमा धनश्याम चौधरी आर्थिक मामिलामन्त्री, खुसीराम डगौरा थारू विना विभागीय र इन्दिरा गिरी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त हुनुभएको छ  ।

उहाँहरुले शुक्रवार राति नै पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले थप मन्त्री दिएर नागरिक उन्मुक्तिको समर्थन कायम राख्दै बहुमत जुटाउने प्रयास गर्नुभएको छ । तर, अझै पनि बहुमत जुटिसकेको छैन । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सिट आवश्यक पर्छ  । सत्तापक्षमा अहिले कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात गरी २५ जना सदस्यको समर्थन छ ।

 

तपाईको प्रतिक्रिया