आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – मिडिया टाइकून रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग बिहे गर्ने कुरा छिनेको उनको टीमले पुष्टि गरेको छ  । ९२ वर्षीय रुपर्टले ६७ वर्षीया अवकाशप्राप्त रुसी मलेक्युलर बायोलजिस्ट जुकोभासँग केही महिनादेखि ‘डेटिङ’ गरिरहेका बताइएको छ । अर्बपति रुपर्टले डेटिङ सुरु गरेको महिनौंपछि प्रेमिका इन्गेजमेन्टसँग गरेका हुन् ।

९२ वर्षीय रुपर्टले ६७ वर्षीया अवकाशप्राप्त रुसी मलेक्युलर बायोलजिस्ट जुकोभासँग केही महिनादेखि ‘डेटिङ’ गरिरहेका बताइएको छ । उनको बिहे यही वर्ष क्यालिफोर्निया राज्यको भाइनयार्डमा हुने ठानिएको छ। यो उनको पाँचौँ बिहे हुनेछ, बिहे छिनेको भने उनको यो छैटौँ पटक हो । उनले फक्स एन्ड न्यूज कर्पको अध्यक्ष पद गत वर्ष छोडेका थिए ।

जूनमा बिहे
सबैभन्दा पहिला यो समाचार छापेको ‘द न्यू योर्क टाइम्स’ले जून महिनामा बिहे गर्ने कार्यक्रम तय गरिएको र त्यसका लागि निमन्त्रणा बाँडिसकिएको लेखेको छ ।

अस्ट्रेलियामा जन्मेका मर्डोकले पछिल्लो पटक बिहे गर्न निधो गरेकी पूर्वप्रहरी पादरी महिला एन लेसले स्मिथसँग एप्रिल २०२३ मा उनको सम्बन्ध बिग्रन पुगेको र त्यसलगत्तै उनले जुकोभासँग डेट गर्न थालेको बताइएको छ । एलेना र रुपर्टको भेट उनका पूर्वश्रीमतीमध्ये एक चीनमा जन्मेकी व्यवसायी वेन्डी डेङले आयोजना गरेको पार्टीमा भएको थियो ।

मर्डोकका पूर्वपत्नीमा अस्ट्रेलियाली एअर होस्टेस प्याट्रिसिया बूकर, स्कटल्यान्डमा जन्मेकी पत्रकार आना मान, चीनमा जन्मेकी वेन्डी डेङ र अमेरिकी मोडल तथा अभिनेत्री जेरी हल छन् । जुकोभाले पहिला रुसी तेल अर्बपति एलेक्जेन्डर जुकोभसँग बिहे गरेकी थिइन् । उनकी छोरी दाशा व्यवसायी हुन् र उनी रुसी सम्भ्रान्त रोमन अब्रामोभिचसँग सन् २०१७ सम्म विवाह सम्बन्धमा थिइन् ।

को हुन् रुपर्ट मर्डोक ?
रुपर्ट मर्डोकले सन् १९५० को दशकमा आफ्नो करिअर सुरु गरेका थिए । उनले यूकेमा सन् १९६९ मा ‘न्यूज अफ द वर्ल्ड’ र ‘द सन’ खरिद गरे । पछि उनले अमेरिकामा ‘न्यू योर्क पोस्ट’ र ‘वाल स्ट्रीट जर्नल’लगायत अन्य अमेरिकी प्रकाशन खरिद गरे ।

सन् १९९६ मा उनले ‘फक्स न्यूज’ सुरु गरे, जुन अहिले अमेरिकामा सबैभन्दा बढी हेरिने टेलिभिजन च्यानल मानिन्छ । न्यूज कर्प सन् २०१३ मा स्थापना गरिएको हो। त्यसमार्फत् मर्डोक सयौँ स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका मालिक बनेका छन् । उनको करिअर विवादमुक्त भने छैन । उनलाई सबैभन्दा क्षति पुगेको क्षण भने ब्रिटेनको एउटा कुख्यात फोन ह्याकिङ काण्ड हो ।

त्यसमा उनको ‘न्यूज अफ द वर्ल्ड’ले १३ वर्षे स्कुले छात्रा मिली डाउलरको भोइसमेल सुनेको थियो भन्ने सार्वजनिक भएको थियो । ती छात्राको स्कूलबाट घर फर्कने क्रममा अपहरण गरेर हत्या गरिएको थियो । गत सेप्टेम्बर महिनामा उनले मिडिया साम्राज्यको अग्रणी भूमिकाबाट पछि हट्ने घोषणा गरेका थिए ।

उनले मिडिया साम्राज्य सञ्चालन गर्ने अधिकार उनका छोरा लाचलानलाई सुम्पिएका थिए । पछि उनले ‘फक्स’ र ‘न्यूज कर्प’को अवकाशप्राप्त अध्यक्षको भूमिका लिए । ‘द न्यू योर्क टाइम्स’को समाचारअनुसार मर्डोकको जुकोकासँगको बिहेले उनको व्यवसायको भविष्यलाई कुनै असर नपर्ने ठानिएको छ । –बीबीसीबाट

तपाईको प्रतिक्रिया