Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा-आधा नेतृत्व गर्ने सहमति भएको छ । कांग्रेससँगको सहकार्य तोड्दै नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

हाम्रा अध्यक्ष र प्रधानमन्त्रीबीच धेरै कुरा प्याकेजमै सहमति भएको र सरकारको बाँकी कार्यकाल २ /२ वर्ष बाँड्ने उनीहरूबीच सहमति भएको एक नेताले जानकारी दिए । गत सालको पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला ओली र प्रचण्डबीचमा साढे दुई वर्ष/ साढे दुई वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो ।

तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेका थिए । एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्डसँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । एमालेसहितका चार मन्त्रीहरूले आजै शपथ लिँदैछन् ।

प्रचण्ड र ओलीबीच नयाँ सहमति भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने ‘च्याप्टर क्लोज’ भएको छ । माओवादीले समाजवादीलाई गठबन्धनमै रहन आग्रह गर्ने निर्णय गरे पनि प्रधानमन्त्री दिन भने तयार छैन । ओली पनि नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन बनाएर जाने कुरामा सकारात्मक रहेको एमाले नेताहरु बताउँछन् ।

नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘अब हामी नयाँ बाटोमा गयौं, वामपन्थी ध्रुवीकरणको यो यात्रामा माधवजी सँगै रहनु हुन्छ भन्ने अपेक्षा छ ।’ २०७९ को चुनावी तामलेम हुँदा नै पुरानो गठबन्धनका बीचमा क्रमशः प्रचण्डले दुई, माधवकुमार नेपालले एक र शेरबहादुर देउवाले दुई वर्ष सरकार चलाउने सहमति भएको थियो । गत पुस १० गते प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा निष्क्रिय भएको उक्त सहमति पोहोर चैतमा कांग्रेस सरकारमा सहभागी हुँदा फेरि ब्युँतिएको थियो ।

तपाईको प्रतिक्रिया