Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चितवनको रत्ननगर नगरपलिका-१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइतबार आएको हो ।

अस्पतालले आइतबार दिएको रिपोर्टमा उनको मृत्युको कारण झुण्डिएर भएको खुलेको छ । बलात्कार पछि हत्या गरिएको आफन्तले आशंका गरे पनि रिपोर्टमा बलात्कार नभएको पुष्टि भएको छ । जिल्ला अस्पताल चितवनमा आफन्तले पोष्टमार्टम गर्न नमानेपछि उनीहरुकै माग अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।

गत शनिबार बिहान एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको शव कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेको थियो । बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उक्त कोठाको ढोका भित्रबाटै बन्द गरिएको थियो ।

बिहान खाना खान बोलाउन जाँदा उनी आएकी थिइनन् । पछि दोस्रो पटक बोलाउँदा पनि नबोलेपछि होस्टलका कर्मचारी र उनका साथीहरुले ढोका फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तर मृतकका आफन्तले भने उनको बलात्कार र हत्या भएको भन्दै विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक र होस्टेल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए ।

आफन्तको किटानी जाहेरीपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो । अदालतले अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

घटनाको निस्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आफन्त लगायत सामाजिक सञ्जालबाट प्रहरीलाई दबाब दिइरहेका छन् । तर प्रहरीले भने अनुसन्धानमा संका नगर्न आग्रह गर्दै पोष्टमार्टम रिपोर्टपछि थप कुरा पुष्टि हुने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया