सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जनसंख्या निरन्तर घटिरहेको जापानमा बिहे गर्ने जोडीको संख्यामा पनि ठूलो गिरावट आएको छ । सार्वजनिक तथ्यांकअनुसार गत वर्ष अर्थात् सन् २०२३ मा ९० वर्षयताकै कम विवाह भएको हो ।

यहाँका धेरै युवायुवतीले बिहे गर्नै छाडेपछि अघिल्लो वर्ष जापानमा ५ लाख भन्दा कम बिहे मात्र भएका छन् । आर्थिक समस्या र कोभिड समयको आइसोलेसनले युवायुवतीहरूमा बिहेप्रति रुचि नै हराइसकेको खोजहरूले देखाएको छ । जीवनयापनका लागि उच्च खर्च लाग्ने तथा रोजगारीको लागि कठिन बजार बनिदिँदा त्यहाँका युवा युवतीले बिहेलाई प्राथमिकता दिनै छाडेका हुन् ।

न्यून आय भएका जापानीहरूमा अझै बिहे नगर्ने संस्कृति नै बस्न थालेको जनाइएको छ । यसरी न्यून बिहे हुँदा जन्मदरमा अझै उच्च गिरावट आउन थालेको छ । यसकारण जापानले निकट भविष्यमा जनसंख्या अभावको ठूलो समस्या खेप्नुपर्ने अवस्था आउनसक्ने जानकारहरू बताउँछन् ।

उसो त जापान सरकारले बिहे तथा बालबच्चा हुर्काउन प्रोत्साहित गर्ने कार्यक्रमहरू नल्याएको भने हैन । तर उच्च मुद्रास्फीतिका अगाडि ती व्यवस्थाहरू नगण्य बनिदिँदा जापानमा जनसंख्याको गिरावट मुख्य समस्याकै रूपमै देखापर्न लागेको विज्ञहरूको भनाई छ ।

तपाईको प्रतिक्रिया