बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – कालो मास्क, राताम्मे कपडा र रातै सलको घुम्टो ओडेर एक हातमा पहेँलो ‘ब्याग’ बोकेकी एक महिलाले थापाथलीस्थित प्रसूति गृहबाट बच्चा लगेर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।

अस्पताल परिसरबाट प्रहरीले संकलन गरेको सिसिटिभी फुटेजमा आफ्नो पहिचान लुकाएकी ती महिलाले आकाशे रङ्गको कपडामा बेरेको बच्चा बोकेर गएको देखिएको छ । काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार दिउँसो एक बच्चा चोरी भएको हो ।

प्रहरीका अनुसार थापाथलीस्थित प्रसूति गृह अस्पतालको कम्पाउण्डबाट २६ दिनको बच्चा चोरी भएको हो ।  चौरीदेउराली गाँउपालिका ३ काभ्रेपलाञ्चोक घर भई काठमाडौँको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठले बोकिराखेको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन् ।

सविनाले २६ दिनअघि छोरीलाई प्रसूति गृहमै जन्माएकी थिइन् । शल्यक्रियापश्चात् जन्माएकी छोरीलाई जन्डिस भएपछि उनीहरूले निरन्तर अस्पतालमै राखेर उनको उपचार गराएर तीन दिनअघि मात्र घर लगेका थिए । शुक्रबार फलोअपका लागि अस्पताल पुगेर लाइनमा चिकित्सकको पालो पर्खिरहेका बेला अर्को लाइनमा बसेकी एक महिलाले छोरी बोकिदिन्छु भनेर लगेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया