Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीन र भारतसँग कूटनीतीक संवाद गरेर प्रयोगहीनजस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने धारणा राखेका छन्। अर्बौँको ऋण लिएर बनाइएका पोखरा विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन बन्दा आर्थिक भारमा मुलुक फसेको उनको तर्क छ।

पार्टीको जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा उल्लेख गरेका हुन्। ‘अर्बौंको ऋण लिएर हामीले बनाएका दुई अन्तर्राष्ट्रिय विमानस्थल एक ढंगले प्रयोजनहीन अवस्थामा छन्। मुलुकको अर्थतन्त्रले चुनौती सामना गरिरहेका बेला विमानस्थलहरूको यो अवस्था हाम्रा लागि बिलकुलै सुखद छैन’, महामन्त्री शर्माले प्रतिवेदनमा लेखेका छन्, ‘यस्तो समयमा बलियो राजनीतिक र कूटनीतिक इच्छाशक्ति अपेक्षित छ। जसमार्फत उत्तर र दक्षिणका दुवै मित्रराष्ट्रसँग हामीले सार्थक व्यवसायीक संवाद गर्न सकौँ।’

प्रतिवेदनमार्फत उनले पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीको कार्यसम्पादन भूमिकामाथि प्रश्न उठाएका छन्। उनले पार्टीबाट सहभागि केही मन्त्रीले सरकारमा गएर ‘बिलकुलै’ प्रभावकारी भूमिका खेल्न नसकेको बताएका हुन्। तीनै तहमा पार्टीबाट सरकारमा रहेका प्रतिनिधिहरूलाई जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिने काम महासमिति बैठकले गर्नुपर्ने शर्माको धारणा छ। ‘जनअपेक्षा अनुसार सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ। कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय छ। केही मन्त्रीको भूमिका प्रभावकारी देखिएको छैन’, प्रतिवेदनमा शर्माले लेखेका छन्।

भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सदाचार पद्धतिको स्थापनको संकल्पमा कांग्रेस लाग्नुपर्ने उनले प्रतिवेदनमा औँल्याएका छन्। उनले महासमिति बैठकले १५ वर्षे नीति विधि र थितिको जग बसाल्ने आधार तयार पार्नुपर्ने पनि उल्लेख गरेका छन्।

 

तपाईको प्रतिक्रिया