शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १३ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाउने भएको छ ।

जापानमा क्रियाशील पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले फोटो तथा भिडियो पत्रकारिता प्रशिक्षण, पिकनिक (BBQ) सहितको मनोरञ्जनात्मक साँगीतिक तथा खेलकुद कार्यक्रम सहित शाखाले आफ्नो स्थापनाको १३ औं वर्षगाँठ मनाउन लागेको हो ।

आउँदो मार्च १० तारिख आइतबारका दिन तय गरिएको सो कार्यक्रम चिबाकेनको साकुरा सिटीस्थित हातेमालोमा हुने शाखाका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए ।

 

सन् २०११ को मार्च १३ का दिन टोकियोमा भएको पत्रकारहरुको एक भेलाले तिलक मल्लको अध्यक्षतामा नेपाल पत्रकार महासंघ जापान शाखाको गठन भएको थियो । उक्त ऐतिहासिक दिनलाई शाखाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी स्थापना दिवसकारुपमा मनाउँदै आईरहेको छ । सोहीअनुरुप यस वर्ष पनि महासंघको त्यस ऐतिहासिक दिनलाई स्मरण गर्दै पत्रकारहरु एकै ठाउँमा भेला भएर आपसमा शुभकामना आदान-प्रदान गर्नुका साथै प्रशिक्षणात्मक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु तय गरिएको शाखाका सचिव राजन गौतमले बताए ।

’जापानमा रहेका हामी पत्रकारहरुका लागि महासंघको स्थापना दिवस आफैमा एउटा ठूलो उत्सव हो’ – शाखाका अध्यक्ष शान्ता पहारीले भने- ’सो अवसरमा आयोजित उक्त कार्यक्रममा उत्साहजनक सहभागिताका लागि जापानभरिका पत्रकार मित्रहरुलाई हार्दिक अपिल गर्दछु ।’ ***

तपाईको प्रतिक्रिया