शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७४ औँ प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएका बताए । ‘राष्ट्रिय प्रजातन्त्र दिवस २०८०’ मूल समारोह समितिका अध्यक्ष समेत रहेका उनले आजको दिन नेपाली जनताका लागि ऐतिहासिक भएको बताउँदै सबैमा शुभकामना समेत दिए । यो सरकारले जनउत्तरदायी भएर काम गर्दै आएको र सबै निकायलाई जनताको पक्षमा काम गर्न निर्देशित गरेको उनको भनाई छ ।सन् २०३० सम्ममा कम विकसित मुलुकको सूचिबाट विकसित राष्ट्रमा सूचिमा परिणत गर्नुपर्ने जरुरी भएको र रोजगारी सृजना गरी बौद्धिक पलायन रोक्नु पर्ने दायित्व सरकारको रहेको उनले बताउनुभयो । त्यसैले नागरिकको सक्रिय सहभागीबाट मात्र समुन्नत र सार्वभौम मुलुक बनाउन सकिने भएकाले सबैले प्रजातन्त्र र लोकतन्त्रको रक्षामा उभिन आग्रह समेत गरे ।प्रधानमन्त्री प्रचण्डले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरे । ‘यतिखेर म, नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ गरेको विश्वास, राखेको आशा र भरोसालाई कमजोर हुन नदिन लागिरहेको छु । संविधानले प्रत्याभूत गरेका हक अधिकार एवं जनताको दैनिक जीवनस्तरमा देखिने परिवर्तन ल्याउन ठोस कदम चाल्नुपर्नेमा म सचेत र गम्भीर छु,’ उनले भने, ‘यस दिशामा आ–आफ्नो जिम्मेवारीअनुरूप जनउत्तरदायी भएर काम गर्नसमेत सम्पूर्ण राष्ट्रसेवकहरूमा निर्देशित गर्दछु ।’कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव, प्रधानमन्त्री ‘प्रचण्ड’ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० ब्यानर अंकित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

तपाईको प्रतिक्रिया