सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ । एउटा सेटमा २ वटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो ।

यसरी राखिने सेटहरु २ प्रकारका छन् । पहिलो खाले सेट सानो आकारको हो । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १ दशमलव २ मिटर उचाइ, १ दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् । यसमा राखिने स्ट्याण्डको मुल्य ५ हजार १५० रुपैयाँ र डस्टबिन प्रति गोटा मुल्य २ हजार ९५० रुपैयाँ हो । यस्ता बिन ३ सय सेट राखिनेछन् ।

मध्यम आकारका सेटमा १ दशमलव ३ मिटर चौडाइ र १ दशमलव ४ मिटर उचाइ भएको स्ट्याण्ड हुनेछ । १२५ लिटर क्षमताका २ वटा बिन राखिनेछन । यसमा प्रयोग हुने स्ट्याण्डको मूल्य ५ हजार ४५० रुपियाँ र बिनको मूल्य ३ हजार ८९० रुपैयाँ हो । विभागकाअनुसार यो मूल्य कर बाहेकको हो । खुला प्रतिस्पर्धाबाट लिइने यी सामग्रीमध्ये केही सेट महानगरपालिकामा आइसकेका छन् ।

बिनको माथिल्लो भागमा कुन प्रकारको फोहोर हाल्ने भाँडो हो भन्ने लेखिएको हुनेछ । यी सेटहरु वडासँग समन्वय गरेर फोहोर व्यवस्थापन कार्यमा खटिने नाइकेहरुको जिम्मामा राखिनेछ । हरेक सेटमा नम्बर दिइएको छ । यसका आधारमा कुन सेट कसको जिम्मामा छ भन्ने थाहा हुन्छ ।

 

तपाईको प्रतिक्रिया