Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पछिल्लो समय देशैभर हत्याका घटना बढ्दै गएका छन् । अधिकांश घटना आर्थिक, पारिवारिक समस्या र अवैध यौन सम्बन्धका कारण भएको देखिएको हो ।

सामान्य वादविवादमा उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । डिप्रेसन र मादक पदार्थ सेवनका कारण पनि हत्याका घटना भएको देखिएको छ । समूहले गरेको हत्या घटनामा अर्कोमाथि हाबी हुने प्रवृत्ति र तत्कालको आवेग रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए । उनका अनुसार पछिल्लो समय उपत्यकामा जघन्य प्रकृतिको अपराध कर्तव्य ज्यानका घटना महिनापिच्छे हुने गरेको छ । उपत्यकामा मात्र सात महिनाको अवधिमा २० वटा कर्तव्य ज्यानको घटना घटेको उनले सुनाए ।

उपत्यकामा माघ महिनामा मात्रै ९ जनाको हत्या भएको थियो । पुसमा दुईजना र मंसिरमा एकजनाको हत्या भयो । असोज र कात्तिकमा दुई/दुई र साउन र भदौमा समान चार/चार जनाको हत्या भएको देखिएको छ । संघीय राजधानी भएका कारण देशभरका नागरिकको बसोवास काठमाडौं केन्द्रित हुने हुँदा देशको अपराधको घटनामध्ये अधिकांश काठमाडौं हुने गरेको प्रहरीको भनाई छ ।

पछिल्लो पाँच वर्षमा देशभर झण्डै ३ हजार जनाको हत्या भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/०७६ मा भएको देखिन्छ । तथ्यांकअनुसार सो वर्ष देशभर ६५९ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष ०७६/७७ मा ५५५ जनाको हत्या भएको थियो । यसैगरी, आर्थिक वर्ष ०७७/७८ मा ५२१ जनाको हत्या भएको थियो । वर्ष २०७८/७९ मा ५९० वटा व्यक्ति हत्याका घटना भएका थिए । त्यसमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरेर भएको छ ।

काठमाडौंमा मात्रै ५० वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा ५०१ जनाको हत्या भएको छ । जसमा ३८ वटा घटना काठमाडौं उपत्यकामा भएका थिए । कुल ९८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७९/८० मा देशभर हत्यासम्बन्धी ५०१ मुद्दा दर्ता भएका छन् ।

गत हप्ता जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरे । रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टीका र छोरा सुशान्तसँग घोराहीको मुख्य बजारस्थित एक होटेलमा बास बसेका बेला उनले हत्या गरेका हुन् ।

प्रहरीका अनुसार पिमलालले श्रीमती टीका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ । प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा छन् । हत्या गरेर उनी आफैँ प्रहरीकोमा पुगेका थिए । घोराहीको व्यस्त बजारमै महिला प्रहरी जवान धनमाया थापा मगरलाई बिहीबार साँझ ड्युटीमा रहेकै बेला श्रीमान यामबहादुर झाँक्री मगरले गोली हानी हत्या गरेका छन् । उनको दामोदर चोकमा हत्या भएको थियो । कर्णाली प्रहरी तालिम केन्द्रमा सहायक प्रहरी हवल्दार पदमा कार्यरत झाँक्री मगरले तीन राउण्ड गोली हानी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भे१२प ११५० नम्बरको मोटरसाइकलमा आएका यामबहादुरले धनमाया भएकै स्थानमा मोटरसाइकल रोकी गोली प्रहार गरेर हत्या गरेका हुन् । मृतक महिला प्रहरीको छाती र कोखामा गोली लागेको थियो । घोराहीबाट भागेका यमबहादुरलाई लमही नगरपालिका-६ अर्जुनखोलाबाट प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनको साथबाट पेस्तोलसहित गोली बरामद गरेको छ । घटनाका बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । दाङमा भएका हत्याका घटनामध्ये यी त दुई प्रतिनिधि घटना मात्र हुन् । बारम्बारको हत्या घटनाले जिल्लाको शान्ति सुरक्षामा प्रश्न चिहृन खडा भएको स्थानीयले गुनासो गर्न थालेका छन् । शान्ति/सुरक्षाको उचित व्यवस्था नभएको गुनासो उनीहरूले गर्न थालेका हुन् ।

तपाईको प्रतिक्रिया