शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन ।विडम्बना, नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको संख्या ठूलो छ । धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् ।कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन् ।यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरूको क्रन्दन र रोदन हेरे र सुने पुग्छ ।आफ्नो परिवारलाई राम्रो, खुसी र सुखीसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर बिदेसिएका कतिपय नेपालीहरू त उतै अस्ताउँछन् । त्यतिमात्रै होइन, शव ल्याउन पनि लासमाथिको राजनीति सुरु हुन्छ । सीप सिकेर गएकाहरूले केही काम गर्न सक्छन् ।तर सीप सिकेर विदेश नगएकाहरू कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन् । यता साहुको ऋणमाथि ऋण थपिएको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन् । यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ । तर मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ । देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ । न त रोएको देशलाई कहिल्यै मलमपट्टी लगाउने बारेमा ध्यान दिन्छ । 

तपाईको प्रतिक्रिया