आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ । युवाका लागि खेलकुद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने प्रतियोगिताको तयारी तीव्र पारिएको हो ।

प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी छ । टिम दर्ताका लागि फेब्रुअरीको २३ तारिखसम्म अन्तिम म्याद राखिएको कार्यक्रमका संयोजक तथा एनआरएनए जापानमा युवा संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए । संयोजक रेग्मीका अनुसार जापानमा रहेका नेपाली युवाहरूलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न बनाउन उत्प्रेरित गराउन सहयोग पुर्‍याउनका लागि एनआरएनए जापानले गत वर्षदेखि सञ्चालन गरेको प्रतियोगितालाई यस वर्ष व्यवस्थित रूपमा निरन्तरता दिन लागिएको हो ।

जापानको चिवाको जेड फुटसल स्पोर्टस् ८५ माएगासकी नागारेयामा हुने फुटसल प्रतियोगिताको विनर हुने टिमलाई ५ लाख ५ हजार ५ सय ५५ जापानी येन र रनिङ कप प्रमाण पत्र र ट्रफी, फस्ट रनर अप टिमलाई ३ लाख ३ हजार ३ सय ३३ जापानी येन, प्रमाण पत्र र ट्रफी, सेकेन्ड रनर अप टिमलाई १ लाख ११ हजार १ सय ११ जापानी येन, प्रमाण पत्र र ट्रफीसहितको पुरस्कार प्रदान गरिने सह आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवाले जानकारी दिएको छ ।

खेलाडीको हौसला वृद्धि गराउने उद्देश्यले खेल सञ्चालनका क्रममा वेष्ट प्लेयर,वेष्ट गोलकिपर, द टप स्कोरर, द वेष्ट कोच, द फेयर अवार्ड टिमलाई १० हजार जापानी येन र म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिने आयोजक टिमका सदस्य तथा एनआरएनए जापानका उपाध्यक्ष सचिन श्रेष्ठको भनाई छ ।

खेल क्षेत्रमार्फत सामाजिक सेवाका कार्यमा सहभागी हुन युवाहरूलाई उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्नका लागि यो फुटसल फलदायी हुने विश्वास आफूले लिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरे बताए । जापानमा रहेका सबै संघ संस्था व्यावसायिक व्यक्तित्व एनआरएनएका अभियन्ता र सामाजिक अभियन्ताहरूलाई उक्त फुटसल प्रतियोगिताका लागि लागि आफ्नो ठाउँबाट सकेको सहयोग गर्नका लागि अध्यक्ष निउरेको आग्रह छ ।

एनआरएनए जापानले जापान भर रहेका युवाहरूलाई समेट्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेकोले यससँग चासो राख्ने सम्पूर्ण जापानवासी नेपाली युवाहरूलाई प्रतियोगितामा भाग लिन र अन्य दाजुभाइ दिदीबहिनीलाई आर्थिकसहितको आवश्यक सहयोग गरिदिनका लागि कार्यक्रम संयोजक रेग्मीले अनुरोध गरेका छन् । ‘प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिसकिएको छ सहभागिताका लागि सम्पूर्णमा अनुरोध गर्दछु,’ संयोजक रेग्मीले भने ।

प्रतियोगितालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी आवश्यक सम्पूर्ण तयारी भइरहेको र खेल पूर्णत: व्यवस्थित मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न हुने आयोजकको भनाई छ । प्रतियोगिताको आयोजक एनआरएनए जापान सह आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवा र सहयोग एनआरएनए जापानका ११ वटै क्षेत्रीय समितिको रहेको छ ।

तपाईको प्रतिक्रिया