Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष आफ्नै पार्टीबाट बनाउने कसरत गरेको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको चर्चा चलिरहँदा माओवादीले पनि अध्यक्ष आफ्नै पार्टीबाट बनाउने कसरत गरेको हो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा पार्टीको दाबी रहने सुनाए । मंगलबारको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रियसभा अध्यक्षमा पार्टीको दाबी रहने बताएको एक सांसदले बताए । ‘केही समयपछि संवैधानिक प्रमुखहरूमा पद रिक्त हुने हुनाले राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी स्वाभाविक रहन्छ,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘तर, साझेदार दलको सहमतिकै आधारमा गरिन्छ । गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ ।’

उपमहासचिव वर्षमान पुन अनन्तले पनि संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा आफूहरूको दाबी रहने बताए । बुधबार बसेको प्रतिनिधि सभाको बैठकका क्रममा संसद् भवन परिसरमा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्रिय सभा अध्यक्ष प्राकृतिक रुपले माओवादी केन्द्रले दाबी गर्छ। यसमा हाम्रो दाबी रहन्छ’, उनले भने, ‘कोसी प्रदेशमा सत्ता गठबन्धन सफल भएन । अहिलेको शक्ति सन्तुलन मिलाउन पनि माओवादीले राष्ट्रिय सभाको अध्यक्ष पाउन पर्छ ।’

पुनले कांग्रेसबाट राष्ट्रपति, एमालेबाट सभामुख र रास्वपा उपसभामुख रहेकाले राष्ट्रिय सभा अध्यक्षमा माओवादीको दाबीलाई स्वभाविक रुपमा लिनुपर्ने तर्क गरेका छन् । पुनले गृहमन्त्री कांग्रेसले लिने केही कुरा नभएको बताए । ‘गृहमन्त्री कांग्रेसले लिने कुरा भएको छैन । राष्ट्रिय सभा अध्यक्ष र मन्त्रीपरिषदको कुरा बेग्लै हो’, उनले भने ।

राष्ट्रिय सभामा माओवादी पहिलो दल भएकोले पनि दाबी स्वाभाविक हुने उनको भनाई थियो अहिले राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीबाट उपाध्यक्ष उर्मिला छन् । फरक दल र लिंगका आधारमा अध्यक्ष/उपाध्यक्ष चयन हुने भएकाले माओवादीले अध्यक्ष अर्यालले राजीनामा दिनुपर्ने हुन्छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ ।

माओवादीका तर्फबाट वर्तमान उपाध्यक्ष उर्मिला अर्याल र नारायण दाहालले अध्यक्षमा आकांक्षा देखाएका छन् । हाल राष्ट्रियसभा उपाध्यक्ष रहेकी अर्याल र मनोनीत सांसद दाहालले अध्यक्षका लागि आन्तरिक लबिङ गरिरहेको माओवादीकै नेताहरू बताउँछन् । माओवादीले पाएको खण्डमा अर्याललाई अध्यक्ष बनाउन नेताहरूसमेत सकारात्मक रहेको नेताहरू बताउँछन् ।

राष्ट्रियसभा अध्यक्ष संवैधानिक परिषद्को सदस्यसमेत रहने हुँदा मुख्य दलको ध्यान यसमै केन्द्रित भएको हो । माओवादीले राष्ट्रियसभा अध्यक्ष दाबी गर्नुको पछाडि संवैधानिक परिषद्मा शून्य हुने चिन्ता पनि हो । गत राष्ट्रियसभा चुनावमा कोशीमा भएको ‘अन्तर्घात’ले पनि माओवादीलाई दाबी गर्न बल पुगेको छ । यसअघि सिटौलालाई नै राष्ट्रियसभा अध्यक्ष बनाउने चर्चा थियो । माओवादीले संवैधानिक परिषद्सम्बन्धी शून्यता देखाएर अध्यक्षमा दाबी गरिरहेको छ ।

माओवादीले कांग्रेस नेता सिटौलालाई मन्त्री बनाएर मनाउने प्रयासमा छ । अब मन्त्रिपरिषद् विस्तार गर्दा सिटौलालाई कहीँ व्यवस्थापन गर्ने र राष्ट्रियसभा अध्यक्ष आफूले लिने माओवादी नेताहरूको आन्तरिक तयारी छ । यसअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुट्नुभएका प्रधानमन्त्री प्रचण्ड कांग्रेसकै सुझावअनुसार रोकिएका थिए । अनौपचारिक रूपमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सिटौलालाई मन्त्री बनाउनेबारे प्रस्तावसमेत गरिसकेका छन् ।

बालुवाटारनिकट स्रोतका अनुसार सिटौलालाई कुनै मन्त्रालय दिएर अघि बढ्दा कसो हुन्छ ? भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई सोधेका थिए । देउवाले पार्टीमा छलफल गर्ने र थप कुरा भन्ने जवाफ फर्काएको बताइन्छ । सिटौलाको नाम गृहमन्त्रीका रूपमा पनि चर्चामा छ । यसअघि नै एकपटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका उनलाई उपप्रधानसहित गृह दिने र आफूले राष्ट्रियसभा लिने सोचमा प्रधानमन्त्री प्रचण्ड पुगेको स्रोत बताउँछ ।

कांग्रेसबिनै माओवादीको बहुमत
राष्ट्रिय सभामा अध्यक्ष चयन गर्दा चाहिने मत माओवादीले कांग्रेसबिनै पनि पुर्‍याउने देखिएको छ । ५९ सिट रहेको राष्ट्रिय सभामा अध्यक्षका लागि ३० सांसद चाहिन्छ । जसमा माओवादी, नेकपा एस, जसपा र जनमोर्चा मिले ३० सांसद संख्या पुग्छ ।

राष्ट्रिय सभामा पहिलो बनेको माओवादीको उपाध्यक्षसहित १७ सांसद छन् । माओवादीका १७, नेकपा एसका आठ, जसपाका तीन र जनमोर्चाका दुई (मनोनीतसहित) हुँदा सांसद संख्या ३० पुग्छ । जुन राष्ट्रिय सभामा अध्यक्ष लिन पर्याप्त छ । राष्ट्रिय सभामा कांग्रेसको १६ र एमालेका १० सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चा तथा स्वतन्त्रको एक/एकजना छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति बनिसकेको छ ।

तपाईको प्रतिक्रिया