आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – एक हप्ता नबित्दै जापानका तीन नेपालीको मृत्यु भएको छ । विद्यार्थी भिसामा जापान आएका धनकुटाका रविन पौडेल, लमजुङका युवराज तामाङ र नुवाकोटका अनुज कार्कीको मृत्यु भएको हो ।

३ महिनाअघि अध्ययनका लागि जापान पुगेका जिल्लाको सहिदभूमि गाउँपालिका-७, साप्तिङटारका २२ वर्षीय रविन पौडेलको उपचारका क्रममा आइतबार मिए युनिभर्सल हस्पिटलमा मृत्यु भएको छ । जापानस्थित मिए जापानिज भाषा स्कुलमा अध्ययन गरिरहेका उनी ४ जना साथीसँगै बस्दै आइरहेका थिए ।

आइतबार बिहान जापानी समय अनुसार बिहान करिब ३ बजेर ५४ मिनेट जाँदा पौडेललाई हृदयाघात भएपछि उनीसँगै बसेका साथीले एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । उपचारको क्रममा उनलाई जापानी समयअनुसार बिहान ४ः४५ बजे मृत घोषणा गरेका हुन् ।

गत शुक्रबार नागोया बस्दै आएका नुवाकोटका अनुज कार्की मृत भेटिएका थिए । विद्यार्थी भिसामा जापान आएर एक वर्ष यता रोजगाररत २७ वर्षी कार्की जापानको पार्कमा शुक्रबार मृत भेटिएका हुन्‌ । जापान समाचारलाई प्राप्त जानकारी अनुसार सुजुकी गाडी कम्पनीमा १ वर्षदेखि उनी काम गर्दै आएका थिए ।

अविवाहित कार्की दुई महिना पछि नेपाल जाने तयारीमा रहेको बुझिएको छ । नेपाल नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका कार्की नागोयाको फुजिओका बस्दै आएका थिए । ५ वर्षअघि जापान विद्यार्थीको रूपमा आएका कार्की शुक्रबार २ तारिख चिकुसा पार्कमा मृत फेला परेका हुन्‌ ।

लमजुङको दोर्दी गाउँपालिका-६, छोटेखोला घर भई हाल जापानको नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङको गत बुधबार मृत्यु भएको थियो । एक्कासि बिरामी परेपछि अस्पताल लगिएका उनलाई जनवरी ३१ तारिखका दिन बिहान ७ बजेर ३ मिनेट जाँदा (नेपाली समयअनुसार बुधबार बिहान पौने ४ बजेतिर) डाक्टरहरूले मृत घोषणा गरेका थिए ।

उनीसँगै बेंसीसहरमा क्याम्पस पढेर जापानमा पनि एउटै भवनमा बसेर एउटै कलेजमा पढ्दै आएका विपिन घिमिरेका अनुसार युवराज र उनी छुट्टाछुट्टै कोठामा बस्दै आएका थिए । युवराजसँगै बस्दै आएका साथीले राति मोबाइल हेरिरहेका युवराज एक्कासि असहज अवस्थामा भएको थाहा पाएपछि खबर गरेको र सबै मिलेर अस्पताल लगेको बताए । ‘हामीले जानकारी पाउनेबित्तिकै अस्पताल लग्यौँ । साथीलाई बचाउन सकेनौँ,’ घिमिरेले भने ।

विद्यार्थी भिसामा २०७९ कात्तिक २७ गते जापान पुगेका युवराज जापानको नागोया सहरस्थित नेनपाकु कुमा बस्दै इक्सास जापानी भाषा विद्यालयमा पढ्दै आएका थिए । बेंसीसहर बस्दै आएका युवराजको परिवारमा बुवाआमा, एक जना दिदी र एक जना दाइ छन् ।

मानसिक रूपमा पूर्ण तयार नभई जापान प्रवेश गर्नु, सोचेको जापान र वास्तविक जापानमा भिन्नता पाउँदा, यहाँको प्रक्रियामा घुलमिल नसक्दा मानसिक तनाव भएर मृत्यु भएको हुनसक्ने अग्रजहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया