Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

गलेश्वर – म्याग्दीको रत्नेचौर यति बेला विदेशमा समेत चर्चित छ । परम्परागत तोरी खेतीलाई सामाजिक सञ्जालसँग जोडेर राख्न थालेदेखि यो गाउँको चर्चा हुन थालेको हो ।

बेनी नगरपालिका-१ मा पर्ने रत्नेचौर केही समययता सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकाले अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । भौगोलिक वनावटका साथै प्राकृतिकरूपले सुन्दर रत्नेचौर सबैलाई आकर्षित गर्न सफल भएको छ । परम्परागत कृषिलाई व्यवस्थित गरेर सूचना प्रविधिसँग जोडिएकाले यो गाउँको कायापलट भएको स्थानीय अगुवा भरत खत्री बताउँछन् ।

उत्तरतर्फ चाँदीझैँ टल्किएका धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, तोरी र गहुँ झुलेर आकर्षक देखिने समथर फाँट, बेनी-बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान र समथर खेतको बीच भागको सडक कालोपत्रे भएकाले पनि रत्नेचौरको रौनक झन् बढेको छ ।

रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर-अर्जम खण्ड कालोपत्रे गरिएको छ । समथर फाँटमा झुलेको धान, फाँटको बीचमा कालोपत्रे सडकका साथै धौलागिरि, नीलगिरिलगायत हिमशृङ्खला देखिने गरी तस्बिर खिचाउन, टिकटक बनाउन र रमाउन दैनिक सयौँको सङ्ख्यामा युवायुवती आउन थालेपछि अहिले रत्नेचौर बेफुर्सदिलो बनेको छ ।

कृषिमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका बासिन्दाले समथर फाँटलाई प्रांगारिक कृषिफाँट बनाउन थालेका छन् । गाउँको फाँटमा रैथाने बालीको खेती गर्ने, होटल, रेष्टुराँ र होमस्टे (घरबास) विस्तार गर्ने, दूध, ताजा तरकारी र फलफूल सबैको घरको करेसाबारीमा लगाउने र पशुपालन गर्नेजस्ता कामको सुरुवात भइसकेको अगुवा खत्री बताउँछन् । त्यसैगरी ढोडेनी खोलामा निर्माण भएको रत्नेचौर-कुडुले जोड्ने झोलुंगे पुलले पनि रत्नेचौरको आकर्षण बढाएको छ ।

‘पूर्वतर्फ मोहोडा भएको फराकिलो रत्नेचौरको फाँटमा धेरै पहिलेदेखि नै तोरी लगाइन्थ्यो। रत्नेचौरबाट उत्तरतर्फ सेता हिमाल, बागलुङ, पर्वत र म्याग्दीका अनेकौँ गाउँबस्ती पहिले पनि देखिन्थे’, बेनी नेपाली कांग्रेस स्थानीय नेता नेत्रबहादुर महत भन्छन्, ‘यी दृश्य हेर्न पर्यटक पहिले आउँदैनथे। जब फाँटको बीचमा सडक पिच भयो र सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यममा यहाँको समाचार आउन थाल्यो त्यसपछि गाउँको रौनक बढ्यो ।’

‘विसं २०७७ मा फाँटको सडक कालोपत्र भयो। बेनी-बागलुङ सडकको स्तरोन्नति भयो । परम्परागतरूपमा गरिँदै आएको कृषिलाई व्यवस्थित गर्न थालियो । प्रविधिको पहुँचसँगै फोटो र भिडियो सामाजिक सञ्जालमा देखिन थालेकाले विगत चार वर्षयता रत्नेचौर देश विदेशमा भाइरल बन्यो’, वडा नं १ का वडाध्यक्ष टेकबहादुर थापाले भने ।

म्याग्दी, बागलुङ, पर्वत र कास्कीका साथै मुस्ताङ जाने र फर्कने पर्यटक रत्नेचौरको तोरीबारीमा रमाउँछन्। पर्यटकको चहलपहलसँगै रत्नेचौरमा व्यापार व्यवसाय पनि फस्टाउँदै गएको छ । पर्यटकको वृद्धिसँगै यहाँ विकासका पूर्वाधार पनि थपिएका छन् । होटल र रेष्टुराँ खुल्नाका साथै रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल पनि निर्माण भएकाले यो क्षेत्र नयाँ गन्तव्य बनेको स्थानीयवासीको भनाइ छ ।

धौलागिरि हिमाल देखिने गरी सडकमा उभिएर तोरीको पहेँलो र गहुँको हरियो दृश्यसहित तस्बीर खिच्न र भिडियो बनाउन यो याममा यहाँ दैनिक आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । बिदाको दिनमा पर्यटकको भिडले सडक खचाखच भरिने गरेको स्थानीयवासी बताउँछन् । पोखराको बिरौटाबाट चार साथीसहित रत्नेचौर आएका प्रविण शेरचन हिमाल हेर्दै तोरीबारीको बिचमा रमाउन पाउँदा निकै आनन्द आएको बताउँछन् ।

पछिल्लो समय यहाँ मुस्ताङ जाने र फर्किने विदेशी पर्यटकसमेत आउन थालेका स्थानीय दिनेश बोगटीको भनाइ छ । उनका अनुसार यहाँ दैनिक तीन सयदेखि पाँचसय जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । -रासस

तपाईको प्रतिक्रिया