आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – नेपालबाट पहिलोपटक चीन हुँदै तेस्रो मुलुकमा सामान निर्यात सुरु भएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर चीन हुँदै नेपाली उत्पादन तेस्रो मुलुक (जापान) पठाउन सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर बनाएर शुक्रबार ११ हजार ७ सय ९१ अमेरिकन डलर बराबर (१५ लाख ६८ हजार १ सय १८ नेपाली रुपैयाँ)को सामान निर्यात गरिएको भोटेकोशी गाउँपालिका ३, लार्चा, सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्य प्रसाद काफ्लेले जानकारी दिए । जापानको थापा इन कर्पोरेशनले नेपालको उत्तरी सीमा तातोपानी नाकाबाट पहिलो पटक चीनको बाटो हुँदै २ हजार ४ सय वाईवाईको कार्टुन (७२ हजार चाउचाउको प्याकेट) आयात गरेको हो ।

निर्यात भएको उक्त सामान चीनको सेन्जेन पोर्ट ट्रान्जिट भएर जापान पुग्नेछ । सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपाल(चीन पारवहन सम्झौताको कार्यान्वयनले नयाँ अवसरको सिर्जना गरेको बताए । चिनियाँ राजदूत छन् सोङले चीन बोलीमा भन्दा व्यवहारमा विश्वास गर्ने उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएको सम्झौता कार्यान्वयनमा आएको बताए । नेपाल–चीन पारवाहन सम्झौताबमोजिम तीनवटा समुद्री बन्दरगाह, चारवटा सुक्खा बन्दरगाह खुला रहेकामा पहिलोपटक नेपाली सामग्री चीन हुँदै तेस्रो मुलुक पठाइनु उल्लेख्य उपलब्धि भएको उनको भनाई छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली उत्पादन चीन तथा तेस्रो मुलुकमा निर्यातका लागि सरकारले पनि सिमानामा क्‍वारेन्टिन ल्याब निर्माण गर्नुपर्ने बताए । चीनलाई ट्रान्जिट बनाएर सामान आयात गर्न सकिने र सोही बन्दरगाह हुँदै तेस्रो मुलुकमा सामान निर्यात गर्न पाउने द्विपक्षीय सम्झौता अनुसार तेस्रो मुलुकमा सामान निर्यात सुरु भएको हो ।  नेपाल-चीन पारवहन सम्झौता भएको चार वर्षपछि चीनको बाटो हुँदै नेपालमा उत्पादित सामग्री तेस्रो मुलुक पठाउन थालिएको हो ।

कहिले भएको थियो सम्झौता ?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ चैतमा चीनसँग व्यापार तथा पारवहन सन्धि गरेका थिए । उक्त पारवहन सन्धिले नेपाललाई समुद्रसँगको वैकल्पिक पहुँच दिएको बताइएको थियो । सम्झौता भएको करिब १० वर्ष भइसकेको छ ।

उक्त सन्धि भएको तीन वर्षपछि २०७६ वैशाख १६ गते पारवहन प्रोटोकलमा हस्ताक्षर भएको थियो । प्रोटोकल सम्झौतामा तत्कालीन समयमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट उनका समकक्षी लि छियाङपेङले हस्ताक्षर गरेका थिए । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन पुगेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितमा उक्त प्रोटोकलमा हस्ताक्षर भएको थियो ।चीनसँग भएको पारवहन सन्धि र त्यसको प्रोटोकलमा भएको हस्ताक्षरपछि नेपालले समुद्रसँगको पहुँचका लागि भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यताको विकल्प पाएको थियो ।  यो प्रोटोकल हस्ताक्षरसँगै नेपालले चीनको चारवटा समुन्द्री र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सुविधा प्राप्त गरेको थियो । यसपछि तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्यसमेत भएको थियो ।

dयो हस्ताक्षरअनुसार नेपालले चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकमा बस्तु निर्यात गर्न पारवहन मार्ग खुला भएको थियो । प्रोटोकल हस्ताक्षरपछि नेपालले चीनको समुन्द्र मार्गमासमेत पहुँच प्राप्त गरेको थियो । प्रोटोकलअनुसार नेपालले चीनको सबै खुला सामुन्द्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्था भएको छ ।

प्रोटोकलमा नेपालले तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्ने उल्लेख छ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ । पारवहन ढुवानीका लागि नेपालतर्फ रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङगोला प्रयोग सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म ढुवानीका लागि आउजाउ गर्न सक्ने गरी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

आपूर्ति शृङ्खला असहज 
लार्चा, सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी काफ्लेले अहिले भएको निर्यात सुरुवात मात्रै भएको बताए । उनले अहिलेको निर्यातलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै थप निर्यातका लागि भन्सार कार्यालयले सहजीकरण गर्ने जानकारी दिए । उनले भने, ‘अन्तर्राष्ट्रिय बजारबाट माग माग भयो र नेपाली उत्पादकले सामान निर्यात गर्न चाहे भने थप निर्यात हुन्छ । यो सुरुवात मात्रै हो । अरू निर्यात हुने/नहुने भन्न सकिँदैन ।’

निर्यात प्रक्रिया सफल भएकाले अब उत्तरी छिमेकी मुलुकमार्फत तेस्रो मुलुकमा नेपाली उत्पादनको निर्यात गर्ने बाटो भने खुला भएको उनले बताए । नेपाली गाडीहरू चीनको भूभागमा जान पाउँदैनन् । २०७२ सालको भूकम्पअघि खासासम्म जान पाइन्थ्यो । खासाबाटै ट्रकहरू लोड भएर आउँथ्यो । तातोपानीस्थित मितेरी पुलनजिक भन्सार कार्यालयबाट भन्सार पास भएर सामान आउँथ्यो ।

उनका अनुसार अहिले मितेरी पुलभन्दा ७ किलोमिटर तल छोटी भन्सार कार्यालयमा  खासाबाट ल्याएको सामान चीनको गाडीले कन्टेनरमा छोडिदिन्छ । त्यहाँबाट नेपाली गाडीले कन्टेनर तानेर भन्सार कार्यालयसम्म ल्याउँछ । भन्सारको गोदाममा सामान अनलोड गरेर पुनः कन्टेनर फर्केर जान्छ । आपूर्ति शृङ्खलामा पनि सहज हुनुपर्ने सूचना अधिकारी काफ्ले बताउँछन् ।

तपाईको प्रतिक्रिया