Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कुनै समय चुलो, चौका र भान्सामा सीमित हुने महिलाको उपस्थिति पछिल्लो समय राज्यको प्रशासनिक नेतृत्व तहमा उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ । नीति निर्माणको हरेक तह र तप्कामा महिलाको संख्यात्मक र गुणात्मक उपस्थिति बाक्लिँदो छ ।

उपस्थिति मात्र होइन राज्यको नीति निर्माण तहमा नेतृत्व गर्ने स्थानमा समेत महिलाहरूको सहभागिता बढ्दै गएको छ । महिला नेतृत्व तहमा पुग्दा सुशासनका साथै सेवा प्रवाहमा अब्बल कार्यसम्पादन समेत प्रस्तुत गर्दै आएका छन् । महिलाहरू प्रशासनिक नेतृत्वमा पुग्दा महिला कुनै पनि दृष्टिकोणले पुरुषभन्दा कमजोर छैनन् भन्ने कतिपय कार्यालयमा महिला सचिवहरूले प्रशासनिक नेतृत्व सम्हाल्दा प्रमाणित भएको छ ।

एक दशकअघि फर्किएर हेर्ने हो भने राजनीति, निजामती सेवासहित विविध क्षेत्रमा महिला सहभागिता औँलामा गनिने अवस्था थियो तर पछिल्लो समय परिस्थिति फेरिएको छ । राज्यले महिलालाई विश्वास गरेर निर्णायक तहबाट हुने कार्यको जिम्मेवारी दिन थालेपछि प्रशासनमा महिलाको नेतृत्व स्थापित हुँदै गएको हो । राष्ट्रिय किताबखानाका अनुसार निजामती सेवाको माथिल्ला पदमा भन्दा तल्लो पदमा महिला उपस्थिति बढी देखिएको छ । निजामती सेवाको सबैभन्दा माथिल्लो पदमा कार्यरत रहेको कुल सचिवमध्ये अहिले ९ जना महिला सचिव कार्यरत छन् । उक्त पदमा यो संख्या निजामती सेवाको इतिहासमै पहिलो पटक वृद्धि भएको हो । यसले आगामी दिनमा भने प्रशासनिक नेतृत्वमा महिलाको सहभागिता अझ बढी हुँदै जाने प्रस्ट छ ।

हालै मात्र परराष्ट्र सचिवमा सेवा लम्सालको बढुवा भएपछि महिला सचिवको संख्या ९ पुगेको हो । राष्ट्रिय किताबखानाका अनुसार अहिले लीलादेवी गड्तौला २०७७ कात्तिक २७ गते सचिव पदमा बढुवा भएकी हुन् भने उनको अनुमानित अवकाश २०८१ भदौ १५ गते हुने छ । उनी अहिले (कानुन सेवा) मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत छन् । प्रमिलादेवी बज्राचार्य २०७८ असार १७ गते सचिव पदमा बढुवा भइन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत उनी २०८३ असार १७ गते अवकाश पाउनेछन् ।

देवकुमारी गुरागाइँ २०७५ फागुन २६ गते सचिवमा बढुवा भएकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उनी २०८० फागुन २६ गते अवकाश हुँदैछन् । यस्तै लक्ष्मीकुमारी बस्नेत २०८० असार २६ गते सचिवमा बढुवा भइन् । २०८५ असार २६ गते उनको अनुमानित अवकाश मिति रहेको छ । उनी अहिले गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रमुख सचिवमा कार्यरत छन् । २०८० मङ्सिर १३ गते सचिवमा बढुवा भएकी सरिता दवाडी २०८५ मङ्सिर १३ गते अवकाश हुने मिति रहेको किताबखानाले जनाएको छ । दवाडीको जिम्मेवारी अहिले रहेको ऊर्जा आयोगमा छ ।

२०८० कात्तिक १६ गते सचिवमा बढुवा भएकी राधिका अर्याल २०८५ कात्तिक १६ गते अनिवार्य अवकाश हुनेछन् । उनी हाल लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रमुख सचिवमा कार्यरत छन् । न्यायसेवाका सचिव निर्मला पौडेललाई केही दिनअघि मात्र न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । यसैगरी बिन्दु विष्ट महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षकको रूपमा कार्यरत छन् भने सेवा लम्साल परराष्ट्र सचिवमा कार्यरत रहेकी हुन् । नेपालको प्रथम महिला सचिव चन्द्रकला किरण हुन् । उनी २०३८ फागुन १५ गते सचिवमा बढुवा भएकी थिइन् ।

तपाईको प्रतिक्रिया