Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे ।

हरेकपटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारितापूवर्क मत दिने तर, कांग्रेसबाट धोका खाने क्रम दोहोरिंदै आएको उनको भनाइ थियो । ‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने, ‘काँग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’

यसअघि विभिन्न प्रकरणमा काँग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले योपटक त्यत्तिले मात्र नपुग्ने बताए । पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रिय सभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे । यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए ।‘दुई वर्षअघि पनि जसपाको राष्ट्रिय सभामा उम्मेदवारलाई हराउने काम कांग्रेसबाट कोशीमै भयो । केदार कार्कीलाई मुख्यमन्त्री बनायँदा पनि त्यही प्रवृत्ति देखियो’, पुनले भने, ‘काँग्रले एकपछि अर्को गर्दै घात गर्ने र हामीभित्र समस्या छ भनेर माफी पाउने अवस्था रहँदैन ।’

पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न कांग्रेस नेतृत्वसँग माग पनि गरे । यस्तै कांग्रसबाट कोशीमा भएको धोकाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने पनि उनले बताए । बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भइन् ।

 

तपाईको प्रतिक्रिया