Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर ७५ लाख आम्दानी गरे । वि.सं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उनले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।

गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गरेका अधिकारीको सुन्तला बगैँचामा एक हजार तीन सयभन्दा बढी बोट छन् । सबैभन्दा धेरै यही वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ छ । उनले भने, ‘अन्य वर्ष ६०/७० लाखको उत्पादन भएको छ । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो ।’

सुन्तला खेतीका लागि वार्षिक १५ लाख खर्च हुने गरेको अधिकारीको भनाइ छ । उनले भने, ‘यो वर्ष खर्च पहिलाभन्दा थोरै बढ्छ । यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ ।’ फलेका सुन्तला सबै टिपिसकेपछि सुन्तला बोटको गोडमेल गरिने अधिकारीले बताए । उनले भने, ‘सबै सुन्तला टिपिसकेपछि सुन्तलाको बोटमा गोडमेल गर्ने, मल हाल्ने, पिना हाल्ने काम हुन्छ ।’

सुन्तला बिक्रीबाट भएको आम्दानीले छोरा इन्जिनियर र छोरी डाक्टर भइसकेको अधिकारीले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्न सके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो हुने उनको भनाइ छ । सुन्तला बगानसम्म सडक सञ्जाल जोडिएकाले सुन्तला बिक्रीका लागि सहज भएको अधिकारी बताउछन् । उनले भने, ‘सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउछन् । बजारको कुनै समस्या छैन । विक्री हुँदैन की भन्ने चिन्ता छैन ।’

सुन्तला खरिद गर्ने ठेकेदार तुलबहादुर थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’

देवघाट गाउँपालिका-३ का भीमबहादुर थापाले यो वर्ष ५५ लाखको सुन्तला बिक्री गरेका छन् । विगतमा अधियाँ गरेर खानुपर्ने बाध्यता रहेको उनको परिवारलाई अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ । उनले भने, ‘विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका किसानले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङग्रिङमा एउटै घरबाट २० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।’

यी त केही उदाहरणमात्र हुन् । तनहुँमा यो वर्ष किसानले सुन्तला बिक्री गरेर ३० करोड भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए । यो वर्ष तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार गत वर्ष २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भने, ‘किसानलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।’ उनका अनुसार देवघाट-२ र ३, आँबुखैरेनी-५, म्याग्दे ४, व्यास-७, १३ र १४, भिमाद-८ र ९, बन्दीपुर-३, ऋषिङ-३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ ।

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८०/८१ मा सुन्तला खेतीमा सहयोग गर्न एक करोड बजेट विनियोजन गरेको छ । कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ ।

जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । उमाचोकका अधिकारीले व्यापारीलाई ठेक्कामा दिँदा सहज हुने अनुभव सुनाए । उनले भने, ‘सुन्तला बगैँचा नै ठेक्कामा दिँदा बिक्रीका लागि सहज हुन्छ । यसले गर्दा बजार खोज्दै हिँड्नपर्ने समस्या हुँदैन ।’ -रासस

तपाईको प्रतिक्रिया