Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सन् २०२३ मा १६ लाखभन्दा बढी नेपाली विदेश गएका छन् । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेको हो ।

अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, गत वर्ष अर्थात् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् । यो अवधिमा विदेश जाने नेपालीमध्ये ११ लाख ७१ हजार १८६ पुरुष छन् । चार लाख ३२ हजार ५८४ महिला छन् । यसमा सबैभन्दा ठूलो संख्या वैदेशिक रोजगारीमा जानेको छ । २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीमा जानेमध्ये पुरुष ७ लाख २३ हजार ७८९ र महिला ८४ हजार ६०४ छन् ।

वैदेशिक रोजगारपछि दोस्रो ठूलो संख्या भिजिट भिसामा जानेहरूको छ । २०२३ मा २ लाख चार हजार ५१८ नेपाली भिजिट भिसामा विभिन्न देश गएका विभागले जनाएको छ । भिजिट भिसामा विदेश जाने नेपालीमा १ लाख ३० हजार ९२६ पुरुष र ७३ हजार ५७५ महिला छन् । यसमा तेस्रो ठूलो संख्या विदेशमा रहेका आफन्त/परिवार भेट्न जानेहरूको छ । २०२३ मा एक लाख ६७ हजार ४८५ नेपाली आफन्त/परिवार भेट्ने उद्देश्यले विदेश गएका छन् । गत वर्ष अध्ययन गर्ने उद्देश्यले एक लाख आठ हजार ५४२ नेपाली विदेश गएका छन् । यीमध्ये ५९ हजार ९७८ पुरुष र ४८ हजार ५६२ महिला छन् ।पीआर लिएका कति नेपाली बाहिरिए ?
अघिल्लो वर्ष स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट विदेश गएका झन्डै ७१ हजार मानिसहरू १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ । नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेका हुन् ।

स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपालीहरू अमेरिका, युरोप र एसियाका आकर्षक भनिएका गन्तव्यहरूमा गएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ । स्थायी बसोबासको अनुमतिपत्र लिएर विभिन्न १०९ देशका लागि सन् २०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैंगिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ ।

त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्यांकले देखाउँछ । त्यसपछि संयुक्त अधिराज्य (यूके) र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन् । सूचीको चौथो स्थानमा नेपाली विद्यार्थीहरूको बढ्दो चाप रहेको अस्ट्रेलिया छ जहाँ ८ हजारभन्दा बढी पीआरवाहक गएका छन् ।२६ सयभन्दा बढी नेपाली पीआर वाहक सन् २०२३ मा जापान गएका छन् । क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजील्याण्ड र यूएई पीआर बोकेर नेपालीहरूले यात्रा गर्ने प्रमुख १० देशमा पर्ने सो आँकडाले देखाउँछ । झन्डै ३०० नेपालीहरू सन् २०२३ मा स्थायी अनुमतिपत्र वाहकको हैसियतमा भारत पुगेको छन् । केही सय र दर्जनको संख्यामा नेपालीहरू ठूलो संख्यामा नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका कतारदेखि साउदी अरेबियासम्मका देशमा स्थायी बसोबासको अनुमतिपत्रसहित ती देशमा गएका हुन् ।

चीनमा १०६ जना, ताइवानमा ३६ जना र मकाओमा २० जना नेपालीहरू पीआरसहित त्यहाँ सन् २०२३ मा पुगेका थिए । स्थायी बसोबासको अनुमतिपत्रसहित बाहिरिने नेपालीको वार्षिक संख्या सन् २०२३मा पहिलो पटक सार्वजनिक गरिएको अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहालले बताए । ‘विगतमा यस्तो अभ्यास रहेनछ,’ उनले भने, ‘लाखौँको संख्यामा नेपालीहरूले स्थायी रूपमा नै देश छाडिरहेका भन्ने चर्चाहरू चल्ने गरेकाले वास्तविकता के हो भन्ने देखाउन हामीले यसरी तथ्यांक निकालेर सार्वजनिक गरेका हौँ ।’

तपाईको प्रतिक्रिया