Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विवादास्पद निर्वाचनमा विजयी भएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले निरन्तर चौथो पटक सरकारको नेतृत्व गर्ने सुनिश्चित भएको छ । उनको दल अवामी लीग र साझेदार दलहरूले ३०० सदस्यीय संसद्‌मा कम्तीमा २ सय २३ सीट जितेका छन् । यो विजयपछि हसिना पाँचौपटक देशको कार्यकारी बन्न पाउने छिन् ।

बंगलादेशको मुख्य विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी बीएनपीले निर्वाचन बहिष्कार गरेको थियो। हसिनाको पार्टी र साझेदारहरूले थप सीट पनि जित्ने अनुमान गरिएको छ । बीएनपीले निर्वाचनलाई स्वाङको सङ्ज्ञा दिएको छ । बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतवार सम्पन्न निर्वाचनको परिणाम आएको हो ।

आधिकारिक तथ्याङ्कमा झन्डै ४० प्रतिशत मत खसेको देखाइएको छ । यद्यपि आलोचकहरूले उक्त सङ्ख्या पनि बढाई-चढाई प्रस्तुत गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा मतदान भएको थियो ।

राजनीतिक विश्लेषक बदिउल मजुमदारका अनुसार निर्वाचन आयोगले मतदानको प्रतिशत बढाएको छ । ‘विभिन्न स्रोत र सञ्चारमाध्यममा प्रकाशित विवरणहरूलाई आधार मानेर हेर्दा (निर्वाचन आयोगले भनेको) मतदानको प्रतिशत र वास्तविकता मिल्दैन,’ उनले भने ।

निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । तर उनीहरूमध्ये अधिकांश अवामी लीगसँग आबद्ध व्यक्ति हुन् । जातीय पार्टीले पनि आठ सीट जितेको छ । निर्वाचनको परिणाम औपचारिक रूपमा घोषणा हुन बाँकी नै छ ।

शेख हसिनाको पाँचौँ कार्यकाल
शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००९ मा उनी फेरि निर्वाचित भइन् । त्यसयता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी छन् ।

प्रधानमन्त्रीका लागि यो उनका लागि पाँचौँ कार्यकाल हुने छ । ‘यो देशमा प्रजातन्त्र कायम रहनुपर्छ भन्ने प्रत्याभूत गराउन मैले यथाशक्य प्रयास गर्दै आएकी छु,’ आफूले मतदान गरेपछि हसिनाले सञ्चारकर्मीहरूसँग आइतवार भनेकी थिइन् ।

अवामी लीगका महासचिव ओबैदुल कादरका अनुसार हसिनाले पार्टीका नेता तथा कार्यकर्तालाई विजयोत्सव नगर्न र जुलुस ननिकाल्न निर्देशन दिएकी छन् । ‘ह्यूमन राइट्स वाच’का अनुसार गत अक्टोबर २८ मा विपक्षी दलले र्‍याली निकाल्दा झन्डै १० हजार जना पक्राउ परेका थिए ।

त्यसपछि भएको हिंसामा कम्तीमा १६ जनाको ज्यान गएको थियो भने ५ हजार ५ सय जनाभन्दा बढी घाइते भएका थिए । सरकारले “सत्तारूढ अवामी लीगका राजनीतिक प्रतिद्वन्द्वीहरूबाट जेल भरेको” आरोप ह्यूमन राइट्स वाचको छ । यद्यपि अवामी लीले उक्त आरोप अस्वीकार गरेको छ । – बीबीसी

तपाईको प्रतिक्रिया