Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

इलाम – इलाम देउमाईका दिननाथ बाँस्तोला विगतलाई सम्झिएर भन्छन्,‘काँधमा हलो र जुवा बोक्नु पर्थ्यो, गोरुलाई अघाएर मात्र जोत्न लैजानुपर्ने हुन्थ्यो ।’ उनले भनेजस्तै पहिला एक हल (दुईवटा) गोरु अगाउनु, मेलासम्म लैजानु र हल गोरु नारेर जोत्नु सजिलो काम थिएन ।

दुईवटा गोरु, जोत्न एकजना मानिस आवश्यक पर्दथ्यो । बाली जोगाउन छेक्ने मान्छे पनि । अनि हलो निर्माण र हलोमा प्रयोग हुने अनौ, हरिस, पाड्को जुटाउन पनि त समय र पैसा खर्चिनु पर्दथ्यो । गोरुको काँधमा प्रयोग हुने जुवा, जुवामा लगाउने ठेस्सी, हल्लुण र बाँध्ने डोरी जुटाउन उत्तिकै समय खर्चिनु पर्दथ्यो ।

अब यहाँका किसानलाई यो झन्झट र अतिरिक्त खर्चको समस्याको समाधान भएको छ । अहिले गाउँगाउँमा हाते ट्याक्टर पुगेको छ । पहिला दिनभर जाेतेजति अहिले हाते ट्याक्टरबाट घण्टा नबित्दै हुन थालेको छ । हरेक किसानसँग हाते ट्याक्टर नभए पनि अर्काको भाडामा ल्याएर पनि काम चलाउन थालेका छन् ।

खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग भएको मात्र होइन, गाउँगाउँमा काठ, दाउरा काट्न पनि मेसिनको प्रयोग गर्न थालिएको छ । जंगलमा काठ काट्न र चिर्न समेत चेन्सो मेसिनको प्रयोग हुन थालेपछि बन्चरो, खुर्पाको प्रयोग हुन छाडेको छ । महिनौँ लाग्ने काम एकै दिनमा सम्भव भएको स्थानीय डीक राईले बताए ।

यहाँ काठ प्रायः ठिक्कामा काट्ने गरिन्छ । एक ठिक्का (एक ठिक्कामा एक हजार फुट हुन्छ) काठ काट्न करिब महिना दिन लाग्थ्यो । तर मेसिनले दुई दिनमा नै काटेर भ्याइन्छ काठ काट्ने मानिस (आरावाल) लाई खाजा र खाना समेत काट्न लगाउनेले बेहोर्नु पर्दथ्यो ।

जंगलमा कटान गरिएको काठको ढुवानी पनि अब मानिसले बोकेर नभई ट्याक्टर वा पिकअपको प्रयोग गर्ने गरिएको छ । हाल पहाडी क्षेत्रका गाउँगाउँ मात्र हैन घरघर सडक पुगेको छ । सडक र सवारीले थपेको सहजताले स्थानीय वासिन्दाको जीवनशैली नै फेरिएको छ । पहाडी जिल्ला इलाम सहित पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा झापाको शनिश्चरेबाट नुन बोकेर ल्याउनुपर्ने बाध्यता थियो ।

त्यतिबेला सात दिनसम्म भारी बोकेर मात्र घरसम्म नुन ल्याउन सकिन्थ्यो । ‘नुन लिन जाँदा खाने र बाटोमा बस्ने बन्दोबस्त समेत गर्नु पर्दथ्यो । मकै भुटेर दौराको फेरमा पोको बनाएर पनि गइयो नि’ विगतका दिन सम्झँदै वृद्ध हरिकुमार राई भन्छन्,‘अहिले त निकै सुविस्ता भएको छ । यस्ता दिन पनि आउलान् भनेर मैले त सपनामा पनि देखेको थिइनँ ।’

निर्माण व्यवसायमा पनि प्रविधिले निकै सजलो बनाएको गाउँलेहरू बताउँछन् । झम्पल र कोदालोले सडक निर्माण गर्नुपर्ने बाध्यता समेत हटेको छ। सडक निर्माणकै क्रममा ढुंगा भेटिए महिनौँ दिन लगाएर हम्मरले हानेर फोर्नु पर्ने बाध्यता थियो । हाल एक्स्काभेटर प्रयोग गरेर सडक निर्माण हुन्छ । महिनौँ लाग्ने काम एकै दिनमा सम्पन्न हुन्छ ।

प्रविधिको कुरा गर्दा सञ्चार क्षेत्रमा भएको प्रविधिको विकासले सोच्नै नसकिने परिवर्तन ल्याएको गाउँलेहरूको भनाइ छ । हुलाकमार्फत महिनौँ लगाएर चिठी घरघरसम्म पुर्‍याउने दिनको समाप्त भएको छ । फोन र इन्टरनेटबाट सेकेन्डमा कुरा त्यो सम्भव भएको छ । प्रायः सबैका हातहातमा मोवाइल फोन भएकाले सञ्चार निकै सहज बनेको छ ।

सामाजिक सञ्जालको विकासले संसारलाई खुम्च्याइदिएको महसुस हुन थालेको छ । सञ्चारका माध्यमबाट संसारका हरेक घटना प्रत्यक्ष हेर्ने अवसरसहज भएको छ । अब ग्रामीण किसानलाई धान काट्न खेताला खोज्नु पर्ने दिनको समेत अन्त्य हुँदै गएको छ । थ्रेसरको प्रयोगले काम छिटो सम्पन्न हुन थालेको छ ।

कतिपय स्थानीय तहले समेत अनुदानमा उपकरण वितरण गर्ने गरेका छन् । सहकारी वा समूहमार्फत मात्र नभएर पछिल्लो समय व्यक्तिलाई समेत सामग्री वितरण गर्न थालिएको छ ।

खेती किसानमा प्रयोग हुने औजारदेखि सूचना आदानप्रदानमा प्रयोग हुने चिठीपत्र, घरायसी प्रयोजनमा आउने ढिकी जाँतो, फुसको छानो विस्थापित हुँदै गएको छ । अब आधुनिक उपकरणबाट दूध प्रशोधन, घरघरमा इन्टरनेट र वाइफाई, विद्यालयमा कम्प्युटर शिक्षा, गाउँगाउँमा यातायात, मोबाइल बैंकको प्रयोग बढ्न थालेको छ ।

जनताको दैनिकी समेत निकै फेरिएको छ । पहिला हातले टिप्ने चिया हाल मेसिनको प्रयोगले हुन थालेको छ । दाउरा बालेर खाना पकाउने समय थियो । पछिल्लो समय ग्यास हुँदै विद्युतीय उपकरण प्रयोग गरेर खाना पकाउन थालिएको छ । घण्टौँ सम्म धाएर विद्यालय जानु पर्ने समस्या थियो । हाल घरघरमा विद्यार्थी बोक्न बसको प्रयोग भएको छ ।

देशमा विकास केही भएन भनेर निराशा व्यक्त गर्ने युवालाई अघिल्लो पुस्ताका बाबुबाजेले सोच्नै नसकेको परिवर्तन र विकास भएको बताउने गर्दछन् । सरकारले देशमा नै रोजगारीको सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्न आवश्यक रहेको बुढापाकाको भनाइ छ । लगानीमैत्री वातावरण बनाउनु र भ्रष्टाचारलाई शून्यमा झार्न सके मात्र धेरै समस्याको समाधान टरेर जाने उनीहरू बताउँछन् । -रासस

तपाईको प्रतिक्रिया