बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – जापानमा नेपालीद्वारा सञ्चालित कम्पनी ‘दिपवे जापान’को २० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सन् २००३ सालमा स्थापना भएको कम्पनी २० औँ वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको हो ।

टोकियोको मिता स्टेसनस्थित आफ्नै रेस्टुरेण्टमा एक कार्यक्रम गरी कम्पनीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका प्रमुख दीपक सुबेदीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद प्रकट गरे । कुक पेशाको रूपमा जापान प्रवेश गरेर निरन्तरको लगन र मेहनतले व्यवसाय स्थापना गरेको कुराको स्मरण गर्दै जापान प्रवेशको सुरुवाती दिनमा फुकुओकामा आफूले काम गरेको रेस्टुरेन्टका कम्पनीको मालिकलाई मुख्य अतिथिको रूपमा निमन्त्रणा गरिएको थियो ।

कुक भिसाबाट आफ्नै व्यवसाय गर्न सुरुवाती चरणमा कठिन भएपनि साहस र हिम्मत गरेर अगाडि बढेको बताए । स्थापनाको २१ औँ वर्षको अवसर पारेर दिपवे जापानले आफ्ना रेस्टुरेन्टका सबै  ग्राहकलाई लक्षित गरी १ हप्तासम्मको निम्ति २० प्रतिशत छुट अफर योजना सार्वजनिक गरेको छ ।जापानी, नेपाली, इन्डियन, थाई, बंगलादेशका १५० जना भन्दा बढी कर्मचारी उपस्थिति रहेको कार्यक्रममा प्रत्येक वर्ष प्रदान गर्दै आएको प्रमाणपत्र वितरण यस वर्ष पनि कम्पनीमा काम सुरुवात गरी पाँच वर्ष पार गरेका १० जना भन्दा बढिलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

नववर्ष २०२४ को सुरुवात सँगै भावी योजनाहरूका बारेमा बताउँदै सन २०१३ देखि हालसम्म भाडामा सञ्चालन गरेको १७० चुबो (561 m2)मा बनेको जमिनसहितको दुई तले फुडस्टोर छिटै कम्पनीको आफ्नै निजी सम्पत्ति हुने कुराको जानकारी गराए । २० औँ  रेस्टुरेन्टको शाखा यही मार्च महिनाभित्रै टोकियोमा र २१ औँ शाखा ओसाका शहरको ओसाका ऊमेदा स्टेसनमा जुलाई महिनासम्म खोल्ने जानकारी दिइएको छ ।कम्पनीमा कार्यरत कर्मचारीको हक, हित र सुरक्षाको निमित्त जागिर गरिरहेको अवस्थामा होस् या छुट्टीको समयमा अचानक बिरामी एवम् दुर्घटना भई उपचारको निमित्त १० लाख येन र आकस्मिक दुर्घटना भई मृत्युवरणको अवस्थामा परिवारलाई १ करोड येनसम्म सहयोग गर्ने कम्पनीले बताएको छ ।

अहिलेसम्म कम्पनी बाट सीमित कर्मचारीले मात्रै पाउने गरेको वार्षिक बोनसको सुविधा अबदेखि सबै कर्मचारीको प्रोत्साहन योजना अन्तर्गत इमानदार र जिम्मेवार सबै कर्मचारीलाई उनीहरूको कामको मूल्याङ्कन गर्दै वर्षमा एकपटक आफूले पाएको तलब बराबरको बोनस सुविधा प्रदान गरिनेछ ।कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि गर्दै आइरहेको छ । दिपवे फाउण्डेशनमार्फत विभिन्न आपतकालीन घटनाहरू, नेपालमा आइपर्ने विभिन्न प्रकोप तथा जापानमा नेपालीहरू समस्यामा पर्दा आर्थिक सहयोग गर्दै आइरहेको छ।

जापानभरी यस कम्पनीका १९ वटा शाखाहरू सञ्चालित छन् भने दुई रेस्टुरेन्ट तुरुन्तै खोल्ने तयारीमा छन्, ५०० भन्दा बढी रेस्टुरेन्टमा आवश्यक खाद्य तथा अत्यावश्यक सामाग्री बिक्री/वितरण गर्दै आइरहेको छ । जापानमा नेपालीहरूद्वारा सञ्चालित व्यवसायहरूमध्ये दिपवे जापान सबैभन्दा ठुलो कम्पनी हो ।

तपाईको प्रतिक्रिया