Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा गएको म्याग्निट्यूड ७.५ को भूकम्प कति शक्तिशाली थियो भन्ने कुरा त्यसको कारणले प्रभावित क्षेत्रको जमिन कति सर्‍यो भन्नेमा प्रतिबिम्बित भएको छ । सोमवारको भूकम्पछि केही ठाउँमा जमिन चार मिटर उठेको छ र छेउछाउमा एक मिटर सरेको छ ।

भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने जापान जमिनमा कम्पन हुँदा निगरानी गर्न निकै उन्नत मानिन्छ। त्यसैले जापानमा त्यस्तो मापन गर्न सम्भव छ । देशभरि रणनीतिक बिन्दुहरूमा स्थापित ‘जीपीएस’ केन्द्रहरूको सञ्जाल यो काममा प्रयोग हुन्छ । भूकम्प आउनासाथ वैज्ञानिकहरूले प्रत्येक बिन्दु कति सर्‍यो भन्न सक्छन् र भूदृश्यमा कति सङ्कुचन वा विस्तार भयो देखाउन सक्छन् । यो प्रणालीले सोमवारको भूकम्पपछि जमिन पश्चिमतिर १३० सेन्टिमिटरसम्म सरेको देखाएको छ ।

अन्तरिक्षबाट निगरानी
वैज्ञानिकहरूले अन्तरिक्षबाट पनि जापानको निगरानी गरिरहेका छन् । त्यसका लागि भूकम्प जानुअघि र गइसकेपछि भूउपग्रहबाट खिचिएका तस्बिरहरूको तुलना गरिँदै छ ।

एलोस-२ भूउपग्रहले जापानमा गएको भूकम्पका कारण पृथ्वीको सतह माथि उठेकाले आफू र पृथ्वीको सतहबीचको दूरी घटेको जनाएको छ । नोतो प्रायःद्वीपको पश्चिमी भेगमा जमिन सर्वाधिक सरेको छ । तटीय क्षेत्रबाट पर समुद्रको भुइँ सर्दा झन्डै ८० मिटर अग्ला सुनामीका छालहरू उत्पन्न भएका थिए ।अरू भूकम्पसँग तुलना
भूकम्पका कारण मानिसको मृत्यु हुनु दुःखद कुरा हो । अहिले पनि भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । तर जापानमा यो भूकम्पका कारण ज्यान जानेहरूको सङ्ख्या उल्लेखनीय रूपमा कम हो ।

मृतकको सङ्ख्या एक सयजति मात्र हुने अनुमान गरिएको छ । जापानको भूकम्पलाई गत वर्ष टर्कीमा गएको म्याग्निट्यूड ७.८ को भूकम्पसँग तुलना गर्न सकिन्छ । निष्काशित ऊर्जाका दृष्टिकोणबाट हेर्दा दुवै घटना समान थिए ।

तर टर्की र सिरियामा गरी मृतकको सङ्ख्या ५०,००० नाघ्यो । हेइटीमा सन् २०१० मा भएको म्याग्निट्यूड ७ को भूकम्पमा एक लाख जनाभन्दा बढीको ज्यान गएको थियो । यति ठूलो भिन्नता देखिनुको एउटै कारण – तयारी ।

जापानमा किन भूकम्प गइरहन्छ
जापान चारवटा मुख्य टेक्टोनिक प्लेटहरूको मिलनबिन्दुमा अवस्थित छ।  जापान पृथ्वीमा अत्यधिक भूकम्पीय गतिविधि हुने क्षेत्रमा पर्छ ।

पृथ्वीभरि जाने म्याग्निट्यूड ६ वा बढीका भूकम्पमध्ये २० प्रतिशतको केन्द्रबिन्दु जापानमा पर्छ । साइस्मोमिटरहरूले औसतमा प्रत्येक पाँच मिनेटमा एउटा भूकम्प पत्ता लगाउँछन् । जापानले भूकम्पबाट हुने क्षतिबाट जोगिने खालका भौतिक पूर्वाधारमा ठूलो लगानी गरेको छ ।भवन निर्माण संहिता कडाइपूर्वक लागु गरिएको छ। अनि भूकम्प गएपछि के गर्ने भन्ने तालिम सर्वसाधारणलाई दिइएको छ । जापानमा विद्यमान भूकम्पको पूर्वचेतावनी प्रणालीलाई विश्वमा निकै उन्नत मानिन्छ । वैज्ञानिकहरू भूकम्प कहिले जान्छ र त्यो कत्रो हुन्छ भन्ने ठोकुवा गर्न सक्दैनन् । तर भूकम्प सुरु भएपछि उपकरणहरूले टीभी, रेडिओ र मोबाइल फोनको सञ्जालमा सूचना पठाउँछन् ।

केन्द्रबिन्दुबाट टाढा रहेका मानिसहरूले त्यस्तो चेतावनी भूकम्पले नराम्ररी हल्लाउनुभन्दा १० देखि २० सेकेन्डअघि प्राप्त गर्छन् । तपाईँलाई त्यति समय अपर्याप्त लाग्न सक्छ । तर स्थानीय दमकल स्टेशनमा ढोका खोल्न र तीव्र गतिमा गुडिरहेका रेलहरूलाई ब्रेक लगाउन त्यो पर्याप्त समय हो । अनि त्यति बेरमा मानिसहरू सुरक्षित तरिकाले बस्न पनि सक्छन् । –बीबीसीबाट

तपाईको प्रतिक्रिया