Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

जापानमा नयाँ वर्षलाई お正月‘ओस्योउगाचु’ भनिन्छ । यो हरेक वर्षको जनवरी १ तारिखमा पर्छ र प्रायजसो तीन दिनसम्म मनाइन्छ ।  जनवरी १ तारिखलाई जापानीहरू आ-आफ्नै तरिकाले मनाउँछन् । सन् १८७३ सालदेखि जापानमा (Gregorian)ग्रेगोरियन क्यालेन्डर भित्र्याएपछि जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन चलेको हो । त्यसभन्दा अगाडिसम्म यहाँ चन्द्रमा घुम्ने समयको आधारमा नयाँ वर्ष मनाउने गरिन्थ्यो ।

म बुहारी बनेर आएको घरमा भने यो दिन जापानको चिबा प्रान्तमा पर्ने  ‘हिनोदे’भन्ने ठाउँबाट ‘पहिलो सूर्योदय’ को दर्शन गरी घर फर्केर, पाठ पूजा सकी सबै परिवारसँगै बसी जापानी रक्सी ‘साके’ खान्पाई गरी सुरुआत गरिन्थ्यो । जसमा जेठानी र भतिजीले बनाएको विभिन्न जापानी खाना, ओसेची रेउरी, शुसी, स्यासिमी, नोरीमाकी, रेन्रकन इतामे, तथा विभिन्न किसिमका सलादहरू र चिकेन पोर्क र विफका परिकारहरू पर्दथे । तर म विफ नखाने भएकोले, म आएपछि यो घरको चलन बदलियो र प्राय चिनेक र माछाका परीकारहरू मात्र बन्न थाले ।

पारिवारिक जमघटको अन्त छुट्टिने बेलामा यो वर्षको आ- आफ्नो एउटा मुख्य उद्देश्य (बाचा गरी) ग्रुप फोटो खिची ‘शिन नेन ओमेदेतोउ गोजाइमस, कोतोशी मो योरोसिकु ओनेगाइ सिमास’ भनी छुट्टिइन्थ्यो । यो ‘कोट’गरेको जापानी भाषाको मतलब “नयाँ वर्षको शुभकामना र यो वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै सहयोग र मेलमिलापको अपेक्षा गर्दछौँ” भनिएको हो ।मलाई भने जापानको नयाँ वर्ष र नेपालको दशैं मिल्दोजुल्दो लाग्दछ । नेपालको दशैंमा टीका लगाइन्छ, तर जापानमा भने टिका लगाईंदैन, बाँकी धेरै चलन मिल्दो जुल्दो देखिन्छ । जस्तो केटाकेटीलाई पैसाको उपहार दिने नयाँ लुगा लगाउने नजिकको नातेदारको घरमा जम्मा भइ शुभकामना आदान प्रदान गर्ने इत्यादि ।

जापानको नयाँ वर्षमा नेपालको जस्तै नाता हेरी पहिला आफ्नो हजुरबुवा हजुरआमा, आमाबुवा र दाजु भाइ दिदी बहिनी अर्थात् नजिकका नाताबाट शुभकामना र आशीर्वाद लिने दिने क्रमबाट सुरु हुन्छ ।  अझ भनौँ जापानमा नयाँ वर्षको तयारी डिसेम्बर २८ तारिख घर घरको ठूलो सर- सफाइबाट आभास हुन थाल्दछ । जसलाई ओसोजी भनिन्छ र डिसेम्बर ३१ को बेलुका ‘तोशि-कोसी सोबा’ फापरबाट बनेको स्पेशल नुडल्स खाइ नयाँ वर्षको आगमनलाई पर्खिने गरिन्छ ।जनवरी १ बाट क्रमशः जमघट हुने र नाता हेरी २,३ ४ र ५ तारिखसम्म मनाइन्छ । आशीर्वाद लिने दिने पहिलो प्राथमिकता संसारकै आत्मीय आमा बुवाबाट र त्यसपछि ससुराली र अनि दाजु- भाइ दिदी- बहिनी गरी जमघट गरिन्छ । जमघटमा प्राय १८ वर्ष मुनिका छोराछोरीलाई दक्षिणा स्वरूप पैसा यानेकि ‘ओतोसि दामा’ दिइन्छ । यो ‘ओतोसि दामा’ दिनको तयार गरिएको खास किसिमको रंगिचंगि खामहरूबाट मात्रै जापान पोस्ट र डिपार्टमेन्टल स्टोरहरूले हरेक वर्ष करोडौँको व्यापार गर्छन् ।

जापानका बच्चाहरूको सबै भन्दा ठूलो र रमाइलो चाड पनि नयाँ वर्ष नै हो । १८ वर्ष भन्दा साना उमेरका बाल बालिकालाई ठूलो देखि क्रमैसँग आफ्नो गच्छे हेरी ३०००, ५००० र १०,०००० दक्षिणा स्वरूप दिइन्छ र बच्चा-बच्चीहरू पनि निकै खुसी हुन्छन् र विद्यालय सुरु भएपछि आफ्ना साथी-सँगी सँग यो वर्ष मैले यति ओतोसी- दामा पाएँ उति पाएँ भनी रमाइ रमाई गफ गर्छन् । जापानको नयाँ वर्ष प्रत्येक वर्षको पात्रोको सुरुआत हो र नयाँ वर्षलाई स्वागत गर्ने दिन पनि वर्षको पहिलो दिन नै हो ।सांस्कृतिक रूपमा जापानमा नयाँ वर्षको सुरुआत, पुरानो वर्षको सफल अन्त्य र नयाँ वर्षको आगमनको खुसीयालीमा मनाउने हर्षको चाड हो । हरेक वर्ष जनवरी १ तारिख यहाँ विभिन्न  सजावट गरी, नयाँ नयाँ  कार्यक्रमहरू राखेर देशका विभिन्न ओहोदाका व्यक्तिहरूबाट जाँडको -ढ्रवान्ग फुटाइ चियर्स गरेर र  मौसमी परिकारहरू खाएर मनाउने गरिन्छ । जसमा मुख्यतया ‘ओचेची रेउरी’ पर्दछ । ओचेची रेउरीमा मसिना तारेका झिँगे माछा, गुलिया स्वादका, कटुशकाबाट बनेका गुलिया प्रकारहरू, शुसी, स्यासिमी, रेन्नकन इतामे, सलादहरू र नोरीमाकी पर्दछ।  तस्बिरमा तल देखाइएको छ ।परिवारका सदस्यहरू काम विशेषले बाहिर रहेका भए आमा बुवाको घरमा फर्केर आउँछन् र रमाइलो गरी मनाउँछन् । आफ्नो धार्मिक विश्वास अनुसार मन्दिर お寺 जिन्जा 神社या चर्च र अन्य ठाउँमा गई जापानी रक्सिले चियर्स गरी नयाँ वर्षको शुभकामना आदान प्रदान गरिन्छ । यो दिन प्राय जापानी प्राथमिक विद्यालयहरूमा ‘मोची’ भात र गुलियो बोडीको लेदो हाली बनाएको एक प्रकारको मिठाई खाने चलन पनि छ । तल फोटोमा पनि राखिएको छ ।ठूला ठूला संस्थानहरूमा समेत आफ्ना कामदारहरूलाई ओतोशीदामा दिने चलन पनि छ । विगतमा भने जापानमा नयाँ वर्षको दिन पनि ओबोनमा जस्तै, पुर्खाहरूको आत्मालाई बोलाउने र सान्त्वना दिने चलन थियो तर यो कालान्लातरमा परिवर्तन हुँदै गयो ।

सन् १८७३ पछि यो नयाँ वर्षको उत्सव बन्यो र वर्षभरि सुस्वास्थ्यको कामनामा परिणत गर्ने दिन बन्यो । यही सुस्वास्थ्यको कामना जापानमा नेन्गा ज्यो बन्यो । मेरो परिवारमा त साथी भाइ छर छिमेक र नाता गोताबाट प्राप्त हुने हागाकीको संख्या ३०० प्रति समेत मैले गनेको थिएँ । अहिले त प्राय जसो अनलाइनबाट नै गरिन्छ र मुस्किलले २०, ३० प्रति मात्र शुभकामना सन्देशहरू पोस्टबाट आइ पुग्छ ।

सबैको यो नयाँ वर्ष २०२४ पनि अत्यन्त लाभ दायक बनोस्, मनले आँटेका ताकेका सबै इच्छा परिपूर्ण होउन् । Happy New Year 2024 to all of you 🙏

गृष्मा पौड्याल 
टोक्यो जापान
२०२४.०१.०१. 
सोमबार

तपाईको प्रतिक्रिया