Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – रोजगारीका लागि दक्षिण कोरिया जाने परीक्षाका लागि आवेदन दिन नपाएपछि प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा दुई युवाको ज्यान गयो । कोरिया जान दुई वर्षदेखि तयारी गरिरहेका अछामको को चौरपाटी गाउँपालिका-१ सिउँडीका २३ वर्षीय वीरेन्द्र शाह र दुई सातादेखि मात्र भाषा सिक्न थालेका दैलेखको महाबु गाउँपालिका-६ रानीवनका २३ वर्षीय सुजन रावत मारिएका हुन् ।

शाह चाडवाडमा घर आउजाउ गर्थे । गाउँमा कक्षा १२ उत्तीर्ण गरेर काठमाडौँ गएका उनी रोजगारीका लागि कोरिया जान भाषा पढिरहेका थिए । कोरिया गएर रोजगारी गर्ने उनको सपना थियो । काठमाडौँमा बसाइँका लागि घरपरिवारले खर्च जोहो गर्न सक्ने अवस्था थिएन । छोराको सपना साकार पार्न ५२ वर्षीय बाबु टेकबहादुर भारत हानिए । बुबा टेकबहादुर त्यसअघि घरमै खेती किसानी गर्थे ।

बङ्लोरमा चौकीदारी गरेर उनले छोराको पढाइ र काठमाडौँ बसाइको खर्च जेनतेन धानिरहेका थिए । बिचमै उनी बिरामी परे । बिरामीले थलिएर एक साताअघि बुवा टेकबहादुर घर फर्किए । बिरामी बुबाको राम्रो अस्पतालमा उपचार गर्ने वीरेन्द्रको धोको थियो तर, उनी कोरिया जान पाएनन् । प्रहरीको गोली लागेर काठमाडौँमा ढले ।

टेकबहादुरलाई प्यारालाइसिसका कारण हातको समस्या छ । ‘दसैँमा आउँदा बुबाआमालाई केही चिन्ता नगर्नु, म विदेश जाने बेला बिदाइ गर्न आउनुपर्छ भन्दै गएको थियो ।’ छिमेकी हजुरबुबा एवं सिउँडी माविका प्रधानाध्यापक बमबहादुर शाहले भने, ‘आज छोराको लास ल्याउन वृद्ध अवस्थाका बुबाले जानुपर्ने समय आयो । शाह परिवारको सहारा चुँडिएको छ ।’

छोराको मृत्युको खबरपछि आमा बेहोस छिन् भने अर्धचेत अवस्थामा रहेका बुवा टेकबहादुरसहित काका र केही परिवारजन शुक्रबार बेलुका काठमाडौँतर्फ हिँडेका छन् । घरपरिवारमा रुवाबासी चलेको छ । इष्टमित्र र छरछिमेकले वीरेन्द्रकी आमालाई सान्त्वना दिइरहेका छन् ।

एक वर्षअघि मात्रै बुवा गुमाएका सुजन घरको ऋण तिर्न कोरिया जाने योजनासहित केही समय अघिमात्रै कोरियन भाषाको तयारीका लागि दैलेखबाट काठमाडौँ पुगेका थिए । सुजनको जन्म घर महाबु भएपनि दैलेख बजारमा उनको परिवारले भाडा पसल सञ्चालन गर्दै आएको थियो ।

दैलेख उद्योग वाणिज्य संघका पूर्वउद्योग उपाध्यक्षसमेत रहेका भक्तबहादुर रावत परिवार दैलेखमा सफल व्यवसायीको रूपमा परिचित थियो । केही वर्षअघि यो परिवारलाई बज्रपात आइलाग्यो । परिवारको मुख्य सहारा भक्तबहादुर एक्कासि थला परे । थुप्रै अस्पतालमा चेकजाँचपछि उनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो । पक्षाघातसमेत भयो । घरपरिवार, दाजुभाइले भरथेग पनि गरे । तर, केही सीप लागेन ।

लाखौँ रकम उपचारमै सिद्ध्याउँदा पनि रोग निको नभएपछि उनलाई दैलेख ल्याइयो । अन्ततः २०७९ मंसिर २ गते उनको निधन भयो । बुबाको मृत्यु भएपछि र पारिवारिक व्यापार बिग्रिएपछि सुजन कोरियाली भाषा परीक्षाको तयारीका लागि एक महिनाअघि मात्रै काठमाडौं आएका थिए । गएको मंसिरमा बुबाको बरखी सकेर भाषा अध्ययनका लागि उनी काठमाडौँ हानिएका थिए ।

ईपीएस भाषा परीक्षा दिन नपाएका युवाहरू शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका थिए । त्यही भीडमा मिसिन पुगेका थिए सुजन । दुर्भाग्य, प्रहरीको निर्घात कुटपिटमा उनले ज्यान गुमाउनुपर्‍यो । मृतक सुजनको छातीमा नीलो डाम छ । प्रहरीको लाठीचार्जमा छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए । उनका साथीहरूले एम्बुलेन्स बोलाएर किस्ट अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

सुजनले कोरिया जान्छु भनेपछि आमा नन्दाले नाइँनास्ती गर्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । तर, सुजन कोरिया जान पाएनन् । आमा नन्दालाई परिवारको जिम्मेवारीको थप भारी बोकाउँदै उनी बिदा भए । उनको कोरिया जाने सपना ललितपुरको बालकुमारीमै बिलायो । दिदी नन्दाको परिवारमाथि शृंखलाबद्ध विपत्ति आइलागेको भाइ यमराज कटुवालले बताए। मृतक सुजनका एक जना दिदी र भाइ छन् ।

तपाईको प्रतिक्रिया