बुधबार, आषाढ ०५, २०८१
Wednesday, June 19, 2024

काठमाडौं – कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिका-२९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्ती छन् । उनले आफ्नी २८ वर्षीया श्रीमती रेखा घर्तीको घाँटीमा तुनाले कसेर हत्या गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । उनीहरूका दुई जना बच्चा पनि छन् ।

पछिल्लो समय श्रीमान-श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ । यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो । अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन् । ‘हिजो महिला आफ्ना प्रेमीसँग भाग्न लागेकी थिइन् । भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले देखेछन्,’ एसपी थापाले भने, ‘त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेको देखिन्छ ।’

लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको प्रहरीले जनाएको छ । रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए । उनका प्रेमी भने भाग्न सफल भएका थिए । ‘हत्या हुँदा धेरै बेर पनि लागेनछ । घटनाका प्रत्यक्षदर्शीहरू पनि धेरै छन्,’ एसपी थापाले भने, ‘प्रेमीलाई भेटाउन पाएनन् । घटना छोटो समयमा नै भएकाले स्थानीयले पनि बचाउन सकेनन् ।’

घटना भएको केहीबेरमा प्रहरीलाई खबर भएको थियो । इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको थियो । उक्त टोलीले घटनास्थल नजिकैबाट रत्नबहादुरलाई पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया