काठमाडौं – वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले रुख काटेर लाभ लिन नपाइए वनजंगल बढाउनुको औचित्य नरहेको बताएका छन् ।
बुधबार काठमाडौँमा सुरु भएको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको ११ औ महाधिवेशन तथा २४ औँ साधारणसभा मन्त्री महतोले भने, ‘रुख लगाउने, रुख काट्न नपाउने ? रुख काट्न नपाउने भनेपछि रुख लगाउने किन ? रुख काटेर व्यवस्थित गरेर त्यसबाट फाइदा लिन सकेनौँ भने जंगल बढाउनुपर्ने कारण के छ ? वनबाट देशलाई समृद्धितिर लैजाने सकेनौँ भने जंगल ४५ प्रतिशतबाट ५० प्रतिशतमा लग्नुपर्ने कारण के छ ?’
जंगलको काठ कुहिएर गइरहेको र उपभोग गर्न नसकिएको भन्दै उनले कारण खोज्नुपर्ने बताए । वन समृद्धिसँग जोडन नसकिए वन र वन मन्त्रालयको अर्थ नरहने उनको भनाइ छ । मन्त्री महतोले वन नियमावली संशोधनको तयारी रहेको र रायका लागि अर्थ मन्त्रालयमा पुगेको बताए ।
महासंघका अध्यक्ष मञ्जिलबाबु मास्के सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्दा काष्ठ उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । ‘वनमा काठ कुहिरहेको छ, सरकारले राजस्व गुमाएको छ,’ उनले भने । वनमा आधारित उद्योग, उद्यम र कार्यक्रममार्फत वार्षिक तीन लाखलाई रोजगारी दिन सकिने भए पनि वन उद्यम विकासमा बाधा भइरहेको उनको भनाइ छ ।
महासंघका महासचिव महासचिवका माधवमणि होमागाईका अनुसार महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।