टोकियो – जापानले ‘राइड हेलिङ्ग सेवा’माथिको प्रतिबन्ध आंशिक रूपमा हटाउने भएको छ । सरकारले ट्याक्सी चालकको राष्ट्रव्यापी अभावलाई सम्बोधन गर्न उक्त सेवामा लगाइएको प्रतिबन्ध आंशिक रूपमा हटाउने निर्णय गरेको हो ।
सरकारको यो निर्णय आउँदो अप्रिलदेखि लागू हुनेछन् । इजाजतपत्र भएका चालकहरूलाई ट्याक्सी कम्पनीको व्यवस्थापनमा रहेको अवस्थामा ट्याक्सीको आपूर्ति कम भएको क्षेत्रमा आफ्नै सवारी साधन प्रयोग गरेर ट्याक्सी सेवाहरू प्रदान गर्न अनुमति दिइनेछ । निजी कार मालिकहरूलाई यातायात खोज्ने व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा जडान गर्ने Uber जस्ता सवारी हेलिङ्ग सेवाहरूमा लगाइएको प्रतिबन्धमा पूर्ण रूपमा हटाउने निर्णय भने विचाराधीन अवस्थामै छ ।
राइड हेलिङ्ग एप्स र रेडियो ट्याक्सीहरूबाट प्राप्त डाटाले ट्याक्सीको अभाव भएको क्षेत्र र समय पहिचान गर्नेछ, जसमा ग्राहकहरूले एपहरू मार्फत सवारी अनुरोध गर्न सक्नेछन् । सुरक्षाको लागि, ट्याक्सी कम्पनीहरू सवारी साधनको मर्मत सम्भार र यातायातको लागि जिम्मेवार हुनेछन् । सरकारले चालकहरूको लागि रोजगार सम्झौताको अतिरिक्त लचिलो बनाउन तयारीसमेत गरेको छ ।
आर्थिक वर्ष २०२४ बाट चालक सेवाहरू प्रदान गर्ने इजाजतपत्रको लागि प्रशिक्षण अवधिलाई छोटो बनाइने छ । यसका साथै थप विदेशी कामदारहरूलाई ट्याक्सी चालक बन्न प्रोत्साहित गर्न विभिन्न २० भाषाहरूमा परीक्षा उपलब्ध गराउने योजना सरकारको छ ।