सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन् ।

समाजसेवी थापाको आवश्यक सहयोगपश्चात् कागजात बनाई ४ महिनाअघि उनी नेपाल फर्किन सफल भइन् । ‘त्यो बहिनी नेपाल गएको ४ महिना भइसक्यो, उसलाई गर्भ बोकाउने केटा अझै फरार छ,’ उनले भने, ‘अझै २ जना नेपाली चेली गर्भ बोकेर बसेका छन्, उनीहरू पनि उद्धारको पर्खाइमा छन् । उनीहरू गैरकानुनी रूपमै कुवेत माभुल्लामा लिभिङमा बस्दै आएका छन्, माभुल्लाको एकै भवनमा बस्ने तीन जना नेपाली चेली गर्भवती भएका हुन् । ६ तलामा बस्ने एक जनालाई भने नेपाल पठाइसकेका छौं, बाँकी दुई जना ४ र ५ तलामा बस्छन्, पीडितले पटकपटक मसँग नेपाल जान सहयोग गरिदिन आग्रह गरे तापनि म त्यहाँ पुगेको छैन ड्युटीको व्यस्तताले गर्दा ।

अहिले गर्भवती भई नेपाल फर्काउन सहयोग माग्ने दुई जना चेलीलाई पनि आवश्यक कागजात बनाई सहयोग गर्ने उनको भनाइ छ । वार्षिक रूपमा अनुमानित २५ देखि ३० जना नेपाली चेली गर्भवती भएर नेपाल फर्काइदिनु भन्दै सहयोग माग्न आउने गरेको तथ्यांक रहेको उनले बताए । पछिल्लो समय गैरकानुनी रूपमा कुवेत पुगेका नेपाली चेली मन मिल्दा लिभिङ टुगेदरमा बस्ने र मन नमिलेपछि गर्भ बोकाएर केटाहरू भाग्ने हुँदा धेरै चेलीले उद्धारका लागि हारगुहार गर्ने गरेका छन् ।

उता, यूएईमा पनि गर्भवती भई धेरै चेलीहरू समस्यामा पर्ने गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष तथा राहत उद्धार संयोजक भीम मल्ल ठकुरीले बताए । उनले भने, ‘न त उनीहरूसँग कुनै भिजा छ, न त कुनै विवाह दर्ता छ, माया प्रेमपछि सँगै बस्ने गर्छन्, समस्या भएपछि केटाहरू भाग्ने गरेको पाइएको छ ।’

उनले बच्चा जन्म दिएर भाग्ने र महिला अलपत्र पर्ने धेरै केसहरू आएको बताए । ‘त्यसैले क्षणभरको रमाइलोभन्दा आफ्नो जिन्दगी सोच्न र सँगै बस्ने गर्नुभन्दा पहिला त्यो मान्छे कहाँको हो, कस्तो हो बुझेर मात्र संगत गर्न म अनुरोध गर्न चाहन्छु,’ ठकुरीले भने । उनले बस्नै परेको खण्डमा नेपालको गाउँपालिका वा नगरपालिकाबाट सिंगल लेटर मगाएर यूएईको कोर्टमा गएर विवाह दर्ता गरी बच्चा जन्माउन पनि अनुरोध गरे । –राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया