काठमाडौं – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको अध्यक्षमा सुनिल घिमिरे चयन भएका छन् । गत शुक्रबार र्याडिसन ब्लु होटलमा सम्पन्न १०औँ राष्ट्रिय अधिवेशनबाट घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कल्याण थापा र मञ्जु खनाल चयन हुँदा उपाध्यक्षमा सूर्यनारायण सापकोटा र सोमनाथ कँडेल चुनिएका छन् । महासचिवमा ध्रुव राज अधिकारी, सचिवमा पुष्प कोइराला, अरविन्द चौधरी र अंकित श्रेष्ठ तथा कोषाध्यक्षमा अजय श्रेष्ठ (कान्छा) तथा सह कोषाध्यक्षमा जागिर आलम चयन भएका छन् ।
युवा संयोजकमा प्रेम नेपाल (म्याक्स), सदस्यहरूमा रिता पोखरेल, सुस्मिता कोइराला, जयशंकर शाह र याम न्यौपाने चुनिएका छन् । पदाधिकारी सहितको पूर्ण कार्यसमिति २५ सदस्य हुनेछ । बाँकी रहेका रिक्त पदमा निर्वाचित कार्यसमितिको बैठकले मनोनीत गर्ने गरी निर्वाचन समितिले अधिकार प्रत्यायोजन गरेको हो ।
एनआरएनए आइसीसी सदस्य सुरेश भट्ट आश्रिन (निवर्तमान अध्यक्ष एनआरएनए एनसीसी कतार) बनेका छन् । महाधिवेशन नेपाली राजदूतावास कतारका कूटनीतिक नियोगका उपप्रमुख कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता र गैरआवासीय नेपाली संघका उपाध्यक्षद्वय उमेश पुडासैनी, थर्कबहादुर सेन र सल्लाहकार धरम केसीको क्रमशः विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
विभिन्न कठिनाइका बाबजुद पनि निवर्तमान अध्यक्ष सुरेश भट्टको नेतृत्वले सफलतापूर्वक महाधिवेशन सम्पन्न गरेको छ । उनको नेतृत्वको कार्यसमितिलाई एनआरएनएले धन्यवाद ज्ञापन पनि गरेको छ । नवनिर्वाचित अध्यक्ष घिमिरे र कार्यसमितिलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरिएको थियो ।
महाधिवेशन र निवर्तमान अध्यक्ष सुरेश भट्टको तर्फबाट साथ सहयोग र हौसला प्रदान गर्ने सबै, एनआरएनए आइसीसी नेतृत्व, संघका निवर्तमान प्रमुख संरक्षक डा. शेष घलेप्रति हार्दिक आभार प्रकट गरिएको छ ।