काठमाडौं – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिका पुगेका उनले यस्तो बताएका हुन् ।
एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राले जनताहरू राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको उनले बताए । ‘पहिलो कुरा यसको राजनीतिक सन्देश के देखियो भने काठमाडौँतिर अहिले हल्ला छ नि । राजतन्त्र फर्किएको हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरु देखिएन । एमालेप्रतिको क्रेज देखियो,’ उनले भने, ‘नयाँ दलहरू जो भनिएको छ, पार्टीहरू भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरूलाई पनि एउटा जवाफ के भने तल जनताको बिचमा नयाँ पार्टीहरूको कुनै क्रेज देखिएन । तेस्रो कुरा संघीयताको पक्षधर भनिएकाहरूले एमाले संघीयता विरोधी भनेर जुन खालको प्रश्न गर्न खोजिएको थियो, त्यसमा पनि प्रश्न देखिएन ।’
उपमहासचिव गुरुङले राजनीतिक रूपले मध्य पहाड क्षेत्र धेरै उर्वर रहेको पाएको तर्क गरे । ‘एमालेमाथि जुन खालको आरोप लागेको थियो, त्यसको खण्डन जनताले यही यात्रामार्फत दिएको छ । यो सरकारले कुनै निर्माणको काम अघि बढाउन सकेको छैन,’ उनले भने, ‘राजनीतिक रूपले मध्य पहाड धेरै नै उर्वर देखिन्छ । मध्यपहाडी कोरिडोर बनाएर सडक कोरिडोर बनाइयो तर आर्थिक कोरिडोरको कुनै नीति ल्याइएको छैन । आर्थिक बस्तीका योजना बनाउनुपर्छ ।’
एमाले पहिचानविरोधी नभएको पनि उनले बताए । ‘एमाले पहिचानविरोधी होइन, एमाले पहिचानविरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौँ,’ उनले भने ।