सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – नेकपा एमाले अहिले सत्ताबाहिर छ । खासमा सत्ताबाहिर बस्ने एमालेको रहर होइन, एक प्रकारको बाध्यता हो । गत वर्षको पुस १० गते एमालेले अप्रत्यासित सत्तारोहण गरेको थियो, त्यो लामो समय टिकेन । बालुवाटारबाट बिरक्तिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेपछि एमाले सत्तामा पुगेको थियो । एमालेसहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुनुभयो । तर, एमाले सत्तामा टिकिरहन सकेन । यसका विविध कारण छन् ।

प्रतिपक्षमा पुगेपछि एमाले विभिन्न नाममा जनतामाझ गइरहेको छ । उद्देश्य जेसुकै होस् एमालेले जनता सम्झिइरहेको छ । गत चुनावलगत्तै पनि एमाले ‘मिसन ग्रास रुट’का नाममा जनतामाझ पुगेको थियो । मिसन ग्रास रुट अभियान गरेको एक वर्ष नपुग्दै एमाले फेरि जनतामाझ पुगेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको अभियान मंगलबार कोशी प्रदेश प्रवेश गरेको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।
अभियानमा स्वयं एमाले अध्यक्ष केपी शर्मा खटिनुभएको छ । उहाँको खटाइ र सक्रियता गजबको छ । मंसिर अन्तिमको चिसोमा उहाँ रात-दिन यात्रा गरिरहनु भएको छ । बिहानदेखि रातिसम्म सभा, सम्मेलन र भेटघाट गरिरहनु भएको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न ओलीको नेतृत्वमा एमालेको जम्भो टोली हिँडेको छ । टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू सहभागी छन् ।

यतिका नेता सहभागी अभियान भने अध्यक्ष ओलीमय बनेको छ । एमालेले कार्यक्रमको प्रारूप नै ओली केन्द्रित बनाएको छ । अरू नेताहरूले उहाँलाई पछ्याइरहेको मात्रै देखिन्छ । उद्घाटनबाहेक हरेक कार्यक्रममा अध्यक्ष ओलीले मात्रै सम्बोधन गर्नुहुन्छ । अरू नेताहरू बोल्दैनन् । एमालेले अभियानको प्रारूप नै यसैगरी बनाएको छ । एमाले अभियान ओलीको एकल प्रहसनजस्तो बनेको छ । अभियानलाई एमालेले ‘मिसन ०८४’ भनेको छ । तर, एजेण्डा स्पष्ट छैन । चार वर्षपछि आउने चुनावलाई लक्षित गरी अहिल्यै किन अभियान चलाउनु परेको हो ? प्रष्ट छैन । तर, ओलीको सक्रियताको भने प्रशंसा गर्नै पर्छ । ओलीले उमेर र रोगलाई पन्छाएर निरन्तर सयौँ-हजारौँसँग संवाद र दैनिक आयोजना हुने सभाहरूमा सक्रियतापूर्वक सहभागिता जनाइरहनु भएको छ । यो ओलीमा देखिएको आत्मविश्वास हो ।

जताततै समस्यै समस्या
मुलुक सही तरिकाले चलिरहेको छ त ? पक्कै छैन । देशमा समस्याका चाङ छन् । मुलुक आर्थिक रूपमा समस्याग्रस्त छ । देशमा उद्योगधन्दा, व्यवसाय सबै चौपट छन् । विदेशिनेको लर्को छ । महँगी, कुशासन व्याप्त छ । नेपाली विश्वविद्यालयमा विद्यार्थी छैनन्, विदेशिन मरिहत्ते गर्नेको लाइन छ । राजनीतिक दलहरू समस्यामा छन् । समस्या कति हो कति ? गाउँदेखि शहरसम्म दुखै दुःख छ । जनता दुःखको पहाड बोकेर विकल्प खोजिरहेका छन् ।

अनि समाधान ? समाधानमा कसैको चासो र चिन्ता छैन । समस्याको समाधान गर्ने प्रमुख दायित्व सरकारको हो । तर, सरकारलाई सरकार टिकाउनै सकस छ । सिंहदरबारले जनताको कुरा सुन्दैन, समस्या देख्दैन र बुझ्दैन ।

सरकार सुतेको बेला समस्या समाधानका लागि दबाब बढाउने काम प्रतिपक्षको हो । प्रमुख प्रतिपक्ष दलको हैसियतले जनजीविकाको सवालमा कुरा गर्नु पहिलो दायित्व एमालेकै हो । ऊ आफँै अभियानमा छ । एक हुल नेता पछि लाएर अध्यक्ष ओली अभियानमा हिँड्नुभएको छ । हुनतः अभियानको नारा ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ राखिएको छ । स्थानीय समस्या उजागर होलान् । तर, समाधान गरिदिने कसले ?

एनसेल प्रकरणमा मौन
एमालेको अभियानमा के भइरहेको छ ? ओली जहाँ पुग्यो त्यही भिड जम्मा हुन्छ । एमाले शीर्ष नेतृत्व ठाउँ-ठाउँमा जम्मा भएका आठ÷दश हजार मान्छे देखेर अति उत्साहित छ । उनीहरूको भाष्य छ ‘मानव सागर उर्लियो ।’ ओलीले भिडमा कोको पुग्छन् ? क-कसले ओलीसँग तस्बिर खिच्छन् ? जनताले समस्या सुनाउँछन् । अनि सुरु हुन्छ ओलीको एकल प्रहसन । ‘यो सरकार मक्किइसक्यो आफैँ ढल्छ,’ अभियान उद्घाटनमा ओलीको बोली थियो । पूर्वी नेपाल नपुगुन्जेलसम्म ओलीको बोली यस्तै रहृयो । ‘यस्तो खालको सरकारले देश चलाउँछ ? अहिले देश ओरालोमा चलेको स्टार्ट नभएको गाडी जस्तो भएको छ’, सोमबार रामेछाप पुगेर ओलीले भन्नुभएको थियो । मंगलबार कोशी प्रवेश गर्दासम्म उहाँ सरकारविरुद्ध खनिनुभयो । ‘जति बेला एमाले सरकारमा गएको छ, देशमा समृद्धि ल्याउने काम गरेको छ,’ ओलीले भन्नुभयो, ‘अहिले सबै ठप्प छ ।’ ठाउँ ठाउँमा सुनिने शब्दहरू यस्तै हुन् । सरकारको आलोचना गर्न देखाइएका समस्याबाहेक एमालेले अरू के मुद्दा उठाएको छ ? महत्वपूर्ण मुद्दामा ओलीको बोली फुटेको छैन । एमाले अभियानकै क्रममा एनसेल खरिद-बिक्री भयो । राज्यका निकायलाई जानकारी नै नदिई एनसेलको सेयर खरिद-बिक्री भएको प्रकरणमा एमाले मौनजस्तै छ । सरकारले छानविन समिति बनाए पनि एमालेले दबाब बढाउने काम गरेको छैन । अध्यक्ष ओलीले समेत सार्वजनिक रूपमा यसबारे अभिव्यक्ति दिनुभएको छैन ।

सरकारले साम्प्रदायिकता भड्कायो : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिकता भड्काएको आरोप लगाउनुभएको छ । झुलाघाट चिवाभञ्ज्याङ समृद्धिको संकल्प यात्राअन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले अहिलेको गठबन्धनको सरकारले साम्प्रदायिकतालाई भित्र-भित्रैबाट टेवा दिइरहेको र जनताको बीचमा फाटो ल्याउने काम गरिरहेको बताउनुभयो । ‘अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको । त्यसकारण अहिले पनि साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढवा दिएर चलिरहेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने र त्यस आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने ।’

ओलीले पहिचानवादी पक्षधरको आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्नेसमेत बताउनुभयो । ‘भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् । भावनाले देश बन्दैन,’ उहाँले भन्नुभयो, ‘देश बनाउन बलियो राष्ट्रिय एकता, समझदारी चाहिन्छ ।’ -हिमालय टाइम्सबाट

तपाईको प्रतिक्रिया