Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

ढोरपाटन – मौलिक कला, संस्कृति र गीत संगीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत संगीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजाति समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि अन्य ठाउँमा खासै पाइँदैन ।

बागलुङको जैमिनी नगरपालिका-३ दमेककी टीकादेवी क्षेत्री ६५ वर्षकी भइन् । यो उमेरमा पनि उनी गीत गाउने र रमाइलो गर्ने निकै रुचि राख्छिन् । बुढ्यौली लागे पनि टीकादेवीलाई पुराना भागाका गाउन कुनै समस्या छैन । मेला, पर्व र गाउँमा लाग्ने महोत्सवमा अहिले पनि उनी गीत गाउन हिँड्छिन् । खास गरी उनले बिना सालैजोको ठाडी भाका, यानीमाया, सुनिमाया र झ्याउरे गीत गाउने गरेकी छन् ।

पछिल्लो समय नयाँ पुस्ताले आधुनिक र विदेशी गीतसंगीतप्रति चासो दिँदा मौलिक लोकभाका हराउँदै गएको जनाउँदै उनी चिन्ता व्यक्त गर्छिन् । पुराना मौलिक लोकभाकालाई संरक्षण गर्न टीकादेवीको नेतृत्वमा महिला आमा समूह नै सक्रिय भएका छन् । गाउँमा सिर्जना आमा समूहमार्फत मौलिक गीतसंगीतको जगेर्ना भइरहेको छ ।

बूढापाकाले जानेबुझेका र गाउँदै आएका पुराना गीत संगीत नयाँ पुस्तालाई सिकाउने प्रयास उनीहरुले गर्न थालेका छन् । धेरै लोकभाका हराउँदै गएपछि सिर्जना महिला आमा समूह सक्रिय रुपमा यसको संरक्षणमा लागेका हुन् । गाउँमा हुने हरेक सार्वजनिक कार्यक्रम तथा परम्परागत चाडपर्वमा युवापुस्तालाई सँगै राखेर उनीहरुले गीत गाउने गरेका छन् । युवा गाउँ छोडेर विदेश तथा बजार झर्न थालेपछि सिक्ने मान्छेसमेत हराउँदै गएका छन् ।

अहिले बजारमा आउने आधुनिक, र्‍याप, हिन्दी र अंग्रेजी गीतका कारण वर्षौं पुराना मौलिक गीत लोपोन्मुख हुँदै गएको टीकादेवीले बताइन् । पुराना गीत नसिकेसम्म गाउन नसकिने उनी बताउँछिन् । गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनुपर्ने हुँदा यो ठाडी भाका गाउन कठिन हुने क्षेत्रीले बताइन् । मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा यस्ता भाका गाउने चलन रहेको उनी बताउँछिन् । अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम बिना सालैजोको ठाडी भाका, सालैजो र झ्याउरे भाका भएको उनीको भनाइ छ। आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताको चासो नहुँदा यस्ता गीत हराउन थालेको टीकादेवीले बताइन् ।

उनले भनिन्, ‘पहिले-पहिले गाउँघरमा धेरै काम गर्नुपर्थ्यो, मेलापात हुन्थ्यो । त्यति बेला झ्याउरे गाउने, ठाडो भाका गाउने गरिन्थ्यो । ती पुराना गीतले थकाइ पनि हराउँथ्यो, रमाइलो र मनोरञ्जन दिने माध्यम बनेको थियो । तर अहिले धेरै गीत आएका छन्, हाम्रा नातीनातिनीले तिनै गीत सुन्ने गाउँने गर्छन् । तर हामीहरुले गाउने पुराना भाका सुन्दैनन्, मन पराउँदैनन् । केही समय भयो हामी पुराना जमानाका बूढाबूढी मिलेर संरक्षणन गर्नुपर्छ भनेर लागेका छौं ।’

गलकोट नगरपालिका-१० की पार्वती काउचा मगरले पहिलेपहिले रोधी बस्ने र पुराना भाका गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडेपछि ती भाका हराउँदै गएको बताइन् । अहिले रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पप तथा लोकगीतले ठाडी भाका हराउन थालेको उनको भनाइ छ । पुराना भाका कलाकारले पनि कमै मात्रा गाउने गरेको उनी बताउँछिन् । बाउआमा, बाजेबजैबाट आफूहरुले पुराना भाका गाउन सिके पनि अहिलेका पुस्ताले चासोनै नदिने काउचाले बताइन् । उति बेला गीत गाउँदागाउँदै बिहे गर्ने चलन रहेको भन्दै अहिले त्यो चलन पनि हराएको उनी बताउँछिन् ।

‘हाम्रो पालामा त गीत गाउँदागाउँदै मन परेको केटाकेटी भयो भने बिहे गर्ने चलन थियो । अहिले त फोन आयो, फोन गरेर भेट्ने बिहे गर्ने गर्छन् । हाम्ले गीत गाएर बिहे गरेको भन्दै अहिलेका मान्छेले अचम्म मान्छन्, जुग जमाना फेरिएपछि सबै थोक फेरिए’, उनले भनिन्, ‘गाउँपालिका, नगरपालिकाले मौलिकता बोकेका पुराना भाका संरक्षणमा चासो दिनुपर्छ, उनीहरुले सिकाउने जिम्मा हामीहरुलाई दिए, हामी निःशुल्क सिकाउन तयार छौं ।’ -रासस

तपाईको प्रतिक्रिया