Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वरिष्ठ पत्रकार तिलक मल्लले जापान जानुअघि त्यहाँका सम्भावना मात्रै होइन चुनौतीबारे पनि राम्रोसंग जानकार हुन आवश्यक रहेको बताएका छन् । क्यापिटल टेलिभिजनको कार्यक्रम ‘सर्वशिक्षा’मा केशव भट्टसँग कुराकानी गर्दै पत्रकार मल्लले चुनौतीबारे यथेष्ट जानकार नहुँदा हाम्रा नेपाली विद्यार्थी भाइबहिनीहरु अलि बढिनै समस्यामा पर्ने गरेको बताएका हुन् ।

जापानी भाषा र उच्च शिक्षाका लागि जापान जाने धेरैजसो नेपाली विद्यार्थीहरु सही परामर्श र तथ्यपरक सूचना बिनै जापान पुगिरहेको उनले बताए । ‘जापानी भाषा पढ्न जापान जाने विद्यार्थीहरूलाई नेपालमा भएका स्कुलहरू र कन्सल्ट्य़ान्सीहरूले सहजीकरण गरेर पठाउने गरेको पाईन्छ । यस क्रममा ती कलिला किशोर/किशोरीहरूलाई सम्भावना नै सम्भावना मात्रै देखाईन्छ जसले गर्दा उनीहरुले चुनौतीका पाटो पूरै बिर्सन्छन्,’ पत्रकार मल्लले भने, ‘हामीले विद्यार्थीहरुलाई जापान उड्नुपूर्व के सिकाएनौं भने त्यहाँ पुगेपछि खाना आफै पकाउनुपर्छ । कपडा आफै धुनुपर्छ, किनमेल पनि आफै गर्नुपर्छ, फोहोरमैला आफै फाल्नुपर्छ, बैंक, हुलाक, अस्पताल पनि आफै एक्लै जानुपर्छ, आफ्नो कोठाको सरसफाई आफै गर्नुपर्छ, कलेजको फि, कोठाको भाडा आफै म्यानेज गर्नुपर्छ भन्ने जस्ता दैनिक जीवनमा आइपर्ने ब्यवहारिक जिम्मेवारीका कुराहरू सिकाइँदैन । त्यसोभएको हुंदा जापान पुगेपछि ती आलाकांचा किशोर/कोशोरीहरु एकैचोटी धेरैथरिका जिम्मेवारीको गह्रुंगो भारी बोक्नुपर्दा अत्तालिन्छन् । जसका कारण कतिपय विद्यार्थीहरूले गलत निर्णय लिन पुग्छन । यी र यस्तै कारणहरुले गर्दा पछिल्ला समयमा जापानमा नेपाली विद्यार्थीहरुबीच  अप्रिय घटनाहरु बाक्लिन थालेका छन् । यो निकै चिन्ताको विषय हो ।’

उनले नेपालमा रहेका भाषा स्कुल र कन्सल्ट्य़ान्सीहरूलाई जापानमा सम्भावना नै संभावना र अवसर मात्र होइन चुनौतीबारे पनि राम्रोसँग बुझाउन र त्यसको सामना गर्ने क्षमताको बिकास गरेर पठाउन पनि आग्रह गरे । ‘जापानमा सम्भावना र अवसर मात्रै होइन, पाईलेपिच्छे आइपर्ने समस्याहरुका बारेमा पनि पूर्ण जानाकारी दिलाउनुहोस । जापानको जीवनशैली जिउनका लागि सबै कुरामा नियमित अपडेट हुनुपर्ने, समयको पालना, अनुशासित दैनिकी, सरसफाइदेखि आफ्ना कारण छिमेकीलाई डिस्टर्ब नहोस भन्नेमा अपनाईनुपर्ने उच्च सतर्कता जस्ता बिषयमा नेपालमै राम्रोसंग बुझाएर, सिकाएर पठाउन सकियो भने धेरै हदसम्म उनीहरुको मनोवल उच्च बनाउन सकिन्छ, त्यसतर्फ सरोकारवलाहरुको बेलैमा ध्यान जानुपर्दछ,’ मल्लले अगाडि भने ।

विशेषतः जापान र नेपालको शिक्षाका विषयमा केन्द्रित कुराकानीमा मुलुक बाहिरको नेपाल सरकारद्वारा मान्यताप्राप्त एकमात्र र पहिलो नेपाली स्कुल ‘एभरेस्ट इन्टरनेशनल स्कुल जापान’ का परिकल्पनाकार मध्यका एक र हाल विद्यालय संचालक समितिका सल्लाहकार समेत रहेका मल्लले नेपालको शिक्षा प्रणाली प्रमाणपत्रमा पास भएपनि व्यवहारमा पास हुन नसक्ने खालको रहेको बताए । ‘नेपालको शिक्षा प्रणालीले रोजगारी दिएन । उद्यमशीलतातर्फ आकर्षित गरेन । उत्पादनसंग जोडेन, कामकाजी बनाएन । आफूमा के दक्षता, योग्यता र खुबी छ,  मैले के गर्न सक्छु भन्ने कुराको अन्यौलताले गर्दा आज हजारौं युवाहरू दैनिकरुपमा वैदेशिक रोजगारीका लागि विदेश जानुपरेको छ, सस्तोमा आफ्नो श्रम र ऊर्जाशिल समय खर्चिनुपरेको छ ’ – उनले भने, ‘नेपालको शिक्षा प्रणालीमा कहीँ न कहीँ खोट छ, यसलाई समसामयिक बनाउनुपर्छ र क्रमशः सुधार गर्दै लैजानुपर्छ । औसतमा भन्नुपर्दा  प्रमाणपत्रमा पास भएपनि  व्यवहारमा पास हुन नसक्ने खालको हाम्रो शिक्षा नीति छ । तर पूरै फेलियर नै हो भन्न खोजिएको भने होईन, नेपालकै शिक्षा हासिल गरेका कतिपय व्यक्तित्वहरू विश्वमै अब्बल साबित पनि भएका छन् ।’

’जापानको शिक्षा प्रणाली विश्वमै राम्रो मानिन्छ । ६ वर्ष प्राथमिक तह, ३ वर्ष निम्नमाध्यामिक तह र अर्को ३ वर्ष माध्यामिक तह गरी १२ वर्ष विद्यालय शिक्षा र अर्को ४ वर्ष युनिभर्सिटी गरी जम्मा १६ को पढाई पूरा गरेपछि जापानमा मुख्यतया: काम गर्नका लागि योग्य मानिन्छ । त्यतिबेलासम्म उनीहरुले आधारभुत सीपसहित ब्यवहारिकरुपमै कामका लागि  फिट भईसकेका हुन्छन, त्यो अवस्था यहाँ रहेन,’ उनले भने ।

  • पत्रकारिता व्यवसायमा सक्रिय मल्ल, जिएमटी इन्टरनेशनल क. लि. का अध्यक्ष हुन् भने नेपाली समाचार र समुद्रपारि अनलाइनका प्रकाशक तथा प्रधान सम्पादक हुन् । शिक्षा तथा समाजसेवामा पनि सक्रिय मल्ल करिब अढाई दशकदेखि जापानमा बस्दै आएका छन् । जापानका दर्जनौ संघसंस्थाहरुमा आबध्द मल्ल नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष समेत् हुन ।  
तपाईको प्रतिक्रिया