Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ०४, २०८१
Friday, July 19, 2024

समयले जसलाई पनि एकचोटि मौका दिन्छ । जसले त्यो समय र मौकालाई ख्याल गर्न सक्छ, त्यो अगाडि बढ्छ । मंसिर ७ गतेअघि दुर्गा प्रसाईँको पक्षमा लाखौँ जनता थिए । तर, उनले राजा फर्काउने अडान लिँदा भएका समर्थनहरू पनि गुमाएका छन् । जनताको आवाज बन्ने बताउँदै आएका प्रसाईँ ठ्याक्कै उल्टो गतिमा हिँडे । उनी जनताको आवाज होइन, राप्रपाको कार्यकर्ता बन्न पुगे ।

सर्वसाधारणले राजतन्त्र खोजेका होइनन्, समस्याको समाधान खोजेका हुन् । आम नागरिक व्यवस्थाप्रति खड्किएका होइनन्, व्यवस्था चलाउनेप्रति रुष्ट बनेका हुन् । तर, प्रसाईँ राजतन्त्रको झोले बनेर हिँडे । सुरुवातमा उनले उठाएका विषयहरू जायज थियो । बैंक तथा वित्तीय संस्थाले पीडित बनाएको कुरा सत्य हो । दुर्गा महँगी, बेरोजगारी, भ्रष्टाचारको विरोधमा पनि आवाज उठाउँदै आएका थिए । त्यसैले, उनको पक्षमा धेरै सर्वसाधारण उभिइसकेका थिए । सहकारी पीडित, लघुवित्त पीडित, शेयर पीडित, व्यापार-व्यवसाय पीडितलगायत सबै उनकै पक्षमा थिए । प्रसाईँले आफ्नो आवाज उठाएको भन्दै सर्वसाधारणले उनको समर्थन गरिरहेका थिए । यहाँ लाखौँ मानिसहरू बैंक तथा वित्तीय संस्थाबाट पीडित थिए । बैंक तथा वित्तीय संस्थाले खाएको धितो आन्दोलनपछि फिर्ता हुन्छ कि भन्ने आस पीडितहरूमा थियो ।

सहकारी पीडितहरू पनि आफ्नो डुबिसकेको बचत फिर्ता पाइन्छ कि भनेर आस गरिरहेका थिए । मंसिर ७ गतेअघि उनको आन्दोलनमा उत्रिन सबै तयार भइसकेका थिए । तर, जब उनले राजतन्त्रको पक्षमा बोले, सर्वसाधारणले खुट्टा पछि हटाए । जति पनि पीडित भएपनि सर्वसाधारण सडकमा आएनन् । जनताले राजा चाहेका रहेछन् भन्ने त स्पष्ट देखिसकेको छ । अब पनि राजतन्त्रको विषयमा बोल्ने हो भने प्रसाईँको हालत के होला ? २०८४ सालको चुनावमा राप्रपा त खुम्चिने निश्चित नै छ । समय कति शक्तिशाली छ भन्ने उदाहरण केपी शर्मा ओली, महेश बस्नेत, गगन थापा र रवि लामिछाने हुन् । राजनीतिमा केही योगदान नभएका यिनीहरूले समयलाई आफ्नो कब्जामा लिन सिकेँ । समयअनुसार बोल्न जाने । जसले गर्दा यिनीहरू आज नेता बन्न पुगे । ओली मान्छे मारेको कसुरमा जेल बसेको व्यक्ति ।

बस्नेत र थापाको पृष्ठभूमि त सबैलाई थाहा छ । टेलिभिजनमा कार्यक्रम चलाउने पत्रकार लामिछाने आज पार्टीको सभापतिदेखि लिएर सांसद छन् । प्रसाईँले जनताकै पक्षमा आवाज उठाइरहेको भए, उनको आन्दोलन सायदै यति चाँडो तुहिन्थ्यो । उनी राजाको झोले रहेछन् भन्ने सबैले थाहा पाए । उनको आन्दोलनमा सहभागी हुन आएकाहरू पनि यतिबेला धमाधम आफ्नो गाउँ फर्किरहेका छन् । प्रसाईँबाट केही नहुने रहेछ भन्ने सबैले बुझेँ । जसका कारण उनको पछाडि अब आम सर्वसाधारण लाग्दैनन् । अझैपनि राजतन्त्रको नारा लगाउने हो भने प्रसाईँ पत्तासाफ हुन्छन् । अहिले हरेक घरका एक सदस्य विदेशमा छन् । रोजगारी नभएपछि नेपालीहरू धमाधम विदेशिरहेका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको लर्को छ । तर, सरकारले देख्दैन ।सरकारको आँखा खोल्न एउटा दरो नेतृत्वको आवश्यकता छ । प्रसाईँले नेतृत्व गर्न खोजेका थिए, तर राजतन्त्रको पछाडि लाग्दा सबै ‘बालुवामा पानी’ भइहाल्यो । प्रसाईँसँग अझैपनि चान्स छ, उनले त्यसलाई कसरी प्रयोग गर्न सक्छन् भन्ने कुरा हो । सहकारी पीडितको पक्षमा आवाज उठाउने, देशको जनशक्तिलाई यही रोजगारीको व्यवस्था मिलाउन माग गर्ने, भ्रष्टाचार र महँगीको विरोधमा बोल्ने हो भने उनको पक्षमा सर्वसाधारण आउन सक्छन् । बैंक तथा वित्तीय संस्थाले मच्चाएको लुटको धन्दाको विरोधमा उनी थप जोडतोडका साथ लाग्न आवश्यक छ । व्यवस्था परिवर्तन गर्न जनताले धेरै संघर्ष गरेका छन् । जनयुद्धमा त्यत्रो नेपाली सहिद भए । बल्लतल्ल ल्याएको व्यवस्थालाई पुनः पुरानैमा बदल्न जनता किन सडकमा आउँथेँ ? यो व्यवस्थाका लागि जनताले लामो समय लडेका छन् । २०५२ साल फागुन १ गते माओवादीले राजतन्त्रको विरोधमा हतियार उठायो ।

त्यतिबेला कसैले पनि माओवादीको कुरा पत्याएको थिए । व्यवस्था परिवर्तन होला भनेर कसैले सोचेका थिएनन् । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यसपछि राजा ज्ञानेन्द्रले सत्ता सम्हालेँ । उनले २०६१ साल माघ १९ गते जनताको सम्पूर्ण अधिकार आफ्नो हातमा लिए । दरबार हत्याकाण्ड नभएको भए अहिले पनि राजतन्त्र रहन्थ्यो । राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूलाई नजरबन्दमा राखेर जनताको अधिकार नलिएको भए, सायदै राजतन्त्र हट्थ्यो । त्यतिबेलाका सात राजनीतिक दलका नेताहरू प्रचण्डकहाँ पुगे । जब माओवादी र अन्य पार्टीहरूले समझदारी गरे, त्यसपछि राजा नै ढग्मगाउनुपर्ने भयो । माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सम्झौता भयो । त्यसपछि आन्दोलन सुरु भयो । २०६२-६३ को १९ दिने आन्दोलनपछि राजाले जनताको नासो जनतालाई नै फिर्ता गर्नुपर्‍यो । देशैभरका आम नागरिक सडकमा आएका थिए । सबै राजनीतिक दल एक भएर २०६५ जेठ १५ गते राजालाई दरबारबाट हटाइदिए । राजाले फेरि पनि फर्किन्छु भन्नु कल्पना गर्नु मात्र हो ।

प्रसाईँले व्यवस्था फेर्छु भनेर आन्दोलन गर्नुपनि बेकार हो । प्रसाईँसँग एउटा अवसर थियो, जुन उनले गुमाए । जनताको मन जित्ने र पार्टी खोल्ने अवसरलाई उनले सदुपयोग गर्न सकेनन् । उनले ‘आफ्नो खुट्टामा आफैँले बन्चरो’ हाने । त्यसैले तकिबेला के बोल्ने भनेर ख्याल राख्न निकै जरुरी छ । प्रसाईँले राजाको झोला बोक्दा आफ्नो अवसरमा गुमाए । राजनीति परिवर्तन धेरै योगदान गरेकाहरू अहिले पनि पछाडि नै छन् । समयअनुसार बोल्न सक्ने क्षमता नहुँदा उनीहरूले ठाउँ पाएनन् । प्रसाईँ २० लाख रुपैयाँसम्म ऋण भएकाले तिर्न नपर्ने बताउँदै आएका थिए । उनले सरकारसँग पनि ऋण मिनाहाको माग गरिरहेका थिए । कालोमोसो लगाउने अभियान सुरु भयो । सर्वसाधारणले पनि प्रसाईँले केही गर्छ भनेर उनको पछाडि लागे । पहिले जनतालाई प्रसाईँले आफ्नो पक्षमा ल्याए । पछि त एकाएक राजाको पक्षमा बोल्न थालेँ । उनी पैसामा बिकेको सर्वसाधारणहरूको अनुमान छ ।

अन्य राजनीतिक दलले झैँ प्रसाईँले पनि सर्वसाधारणलाई धोका दिए । यहाँ सबै जना सस्तो लोकप्रियता कमाउन मात्रै लागिपरेका छन् । कोही पनि जनताको पक्षमा उभिएका छैनन् भनेर बुझ्न जरुरी छ । जनताको समस्या उठाएझैँ गर्ने अनि आफू माथि आउने । त्यसपछि भ्रष्टाचार गर्ने, व्यक्तिगत सम्पत्ति जोड्नतिर लाग्ने । करोडौँ सर्वसाधारणको समस्या छोडेर एउटा राजाको पछाडि लाग्दा प्रसाईँ नाङ्गिए ।

  • अनुसा थापा, भक्तपुर
तपाईको प्रतिक्रिया