बुधबार, फाल्गुण १६, २०८०
Wednesday, February 28, 2024

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो । उनी त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका थिए । भोजराज तिमल्सिना, नितेश बास्तोला, हरि बिशुंखे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्का, मेहरमान बस्नेत र दिपेश खड्का प्रहरीको नियन्त्रणमा छन् ।

उनीहरू सबैविरूद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइनसकेको एसपी ढुंगेलले बताए । मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा पनि प्रहरीसँग झडप भएको थियो ।

प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको थियो । त्यसक्रममा प्रहरीसहित ३८ जना घाइते भएको परिसरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया