Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे सरकार स्पष्ट नरहेको देखिएको छ । हमासले इजरेली र विदेशी गरी झन्डै ६ दर्जन बन्धक मुक्त गरिसक्दा पनि विपिनको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको हो ।

जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ । केही साताअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो । उनलाई छुटाउन आवश्यक सबै किसिमको पहल जारी राखिएको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन् । तर नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुरा गर्न हमाससँग सीधा सम्पर्क गरेको छैन ।

परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन उक्त प्यालेस्टिनी लडाकु समूहसँग सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहल गर्ने प्रयास गरिएको बताए । त्यस क्रममा नेपालले इजिप्टसँग पनि आवश्यक पहल गरिदिन औपचारिक आग्रह गरिसकेको उनले बताए । यसअघि नेपाली पक्षले कतारसँग त्यस्तो आग्रह गरेको थियो र उसबाट सहयोगको आश्वासन पाएको थियो ।

जोशी हमासको कब्जामा रहेको भनिए पनि गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको हमलापछि उनीबारे कसैलाई पनि खासै जानकारी छैन । उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै इजरेली सेनाले त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको थियो । तर हमासले नेपाली बन्धकबारे कुनै पनि विवरण सार्वजनिक गरेको छैन ।

इजरेली सुरक्षा अधिकारीहरूले तेल अभिभस्थित नेपाली दूतावासका अधिकारीहरूलाई विपिन जोशी हमासको कब्जामा रहेका छन् भन्ने मुख्यतः तीनवटा आधारहरू दिएको बताइएको छ । ती आधारहरूमा अल-शिफा अस्पतालको उक्त फुटेमा उनीजस्तो एक व्यक्ति देखिनु एउटा आधार हो ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि पनि विपिन जोशीको मोबाइल फोन इजरेली सीमाबाहिर गाजा क्षेत्रमा केहीबेर ‘एक्टिभ’ रहेको पाइनु अर्को आधारका रूपमा देखिएको छ । तेस्रो आधार भनेको विपिन रहेको कृषि फर्म र त्यस आसपासमा हमासको आक्रमणमा मारिएका र शव पहिचान हुन नसकेकाहरूसँग विपिन जोशीको डीएनए नमिल्नु हो ।

उनी बेपत्ता भएपछि नेपालबाट उनका आमाबुवाको डीएनएको नमुना लगिएको थियो । इजरेली सुरक्षाकर्मीले सङ्कलन गरेका शवहरूको डीएनएसँग तुलना गरेर हेरिएको थियो । इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले जोशीको पछिल्लो अवस्था थाहा हुन नसकेको तर उनलाई मुक्त गर्नका लागि विभिन्न तरिकाले पहल जारी राखिएको जानकारी दिइन् । ‘विपिन जोशीलाई छुटाउनका लागि हामी इजरेली अधिकारीहरूसँग पनि निकट सम्पर्कमा रहेर काम गरिरहेका छौँ,’ उनले भनिन्, ‘विपिनको मुक्तिका लागि चाल्नुपर्ने सबैखाले कदम दूतावासले चालेको छ ।’

इजिप्टलाई पनि पत्र लेखेर आग्रह
कायरोस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालले इजिप्टलाई पनि पत्र लेखेर विपिन जोशीको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको छ । ‘हामीले यहाँको विदेश मन्त्रालयलाई विपिन जोशीको हुलियासहित पत्र लेखेरै उनलाई छुटाउन पहल गरिदिन आग्रह गरेका छौँ,’ उनले भने, ‘उहाँहरूले पनि आवश्यक पहल गरिदिने आश्वासन दिनुभएको छ ।’

विपिन जोशीको अवस्था र उनको मुक्तिका लागि आफूले आइतवार मात्र इजिप्टका सहायक विदेशमन्त्रीलाई भेटेर आग्रह गरेको लम्सालले बताए । ‘उहाँले पनि इजिप्ट र अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत् पहल गरिरहेको जानकारी दिनुभएको छ,’ उनले भने ।

परिवारमा चिन्ता
अहिलेसम्म विपिन जोशीबारे नयाँ जानकारी नपाइएकाले आफूहरू चिन्तित भएको उनको परिवारका सदस्यहरूले बताएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय पहल गरेर जोशीको अवस्था पत्ता लगाइदिन र बन्धक अवस्थामा भए मुक्त गराउन सरकारले प्रभावकारी पहल गरोस् भन्ने चाहेको बताए । उनको परिवारले अन्तर्राष्ट्रिय पहल गरेर चाँडोभन्दा चाँडो मुक्ति होस् भन्ने चाहेको जनाएको छ ।

परिवारका सदस्यहरूले विपिन जोशीका बुबाआमा चाँडै छोरो मुक्त हुने आशामा रहेको बताएका छन् । उनका दाइ चन्द्रकिशोर जोशीले भने, ‘सङ्घर्षविराम भएसँगै धेरै आशा पलाएको छ । भाइ छुटिहाल्छ कि भनेर हामी रातभरि पनि समाचार नै हेरेर बस्छौँ ।’

हमासले छाड्यो ६९ बन्दी
सोमबार राति हमासले ११ जना इजरायली नागरिकलाई रिहा गरेको छ । उनीहरूमध्ये ९ जना बालबालिका र दुईजना बालबालिका हुन् । पहिलो दिन गएको शुक्रबार हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो ।

दोस्रो दिन इजरायलका १३ र थाइल्यान्डका चारजनालाई छाडेको थियो । तेस्रो दिन आइतबार हमासले इजरायलका १३ जना, थाइल्यान्डका तीनजना र रुसका एकजना गरी १७ जनालाई छाडेको थियो ।

इजरायलले सोमबार राति ३० जना बालबालिका र तीनजना महिला गरी ३३ प्यालेस्टाइनीलाई छाडेको छ । चारनिने युद्धविरामका क्रममा इजरायलले कुल १५० प्यालेस्टाइनीलाई रिहा गरिसकेको छ । उनीहरूमध्ये अधिकांश बालबालिका र महिला हुन् ।

गाजाको पछिल्लो अवस्था
अक्टोबर ७ मा हमासले इजरेलमा गरेको हमलामा १,२०० जनाभन्दा बढीको ज्यान गयो । उक्त घटनामा १० नेपालीसहित कैयौँ विदशी नागरिकहरू पनि मारिए । उक्त अप्रत्याशित आक्रमणको प्रतिक्रियामा इजरेलले हमासलाई निमिट्यान्न पार्ने उद्घोषसहित गाजामा सघन सैन्य कारबाही थाल्यो ।

तर इजरेली बन्धक र प्यालेस्टिनी बन्दीहरू मुक्त गर्ने सहमति गर्दै इजरेल र हमास चार दिनका लागि सङ्घर्षविराम गर्न तयार भए । इजरेली हमलामा अहिलेसम्म गाजामा १४,५०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरेली प्रधानमन्त्रीले चाहिँ सङ्घर्षविरामको अन्त्यपछि गाजामा इजरेली कारबाही जारी रहने चेतावनी दिएका छन् । इजरेल र हमासबीच ५० बन्धक मुक्त गर्ने र हमासले थप १० बन्धक मुक्त गरे सङ्घर्षविराम एक दिनले लम्बिने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया